काठमाडौं- नेकपा (एमाले(का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न मंगलबार संसद सचिवालयमा पत्र पठाएका छन्। उनीहरुलाई पार्टीको सदस्यबाट निष्कासन गरिएको जानकारीसहितको पत्र उनले निर्वाचन आयोगमा समेत पठाएका छन्। तत्कालीन नेकपा हुँदै गत फागुन २३ गते ब्युँतिएको एमालेमा चर्को अन्तरसंघर्ष अन्ततः फुटतर्फ मोडिएका बेला ओलीले मंगलबार पार्टीभित्र आफ्नो विरोधी खेमाको नेतृत्व गरिरहेका नेपालमाथि कारबाहीको सम्भवतः अन्तिम अस्त्र प्रयोग गरेका हुन्।
तर, नेपालसहित १४ जनालाई मात्र ओलीले किन कारबाही गरे भन्ने प्रश्न अहिले एमालेभित्र मात्र होइन, बाहिर पनि उठिरहेको छ। कुनैबेला ओलीको बिरोधमा आगो ओकल्ने अरु कैयौं सांसद र नेतामाथि ओली किन नरम देखिए त?
ओलीमाथि आफ्नो सबैभन्दा चर्को विरोध गर्नेलाई पहिलो टार्गेट बनाएर कारबाही गरेको आरोप लागेको छ। अन्य नेताहरुलाई आफ्नो पक्षमा पार्न सकिन्छ कि भन्ने आकलन गरेर कारबाही नगरिएको हुनसक्ने अनुमान पनि गरिएको छ। जेसुकै कारण भए पनि ओलीले यसमा रणनीतिक कदम चालेको आकलन गर्न सकिन्छ।
यसरी कारबाहीमा नपर्नेमा एमालेभित्रको संकट सुल्झाएर पार्टीलाई एकताबद्ध पार्ने भन्दै गठन गरिएको कार्यदलमा रहेका नेपाल समूहका नेता धेरै छन्। उनीहरुले लामो समय पार्टी एकता जोगाउने भन्दै ओली र नेपाल दुवैपक्षसँग छलफल र परामर्श गरेका थिए। पछिल्लो समय नेपाल समूहमा कार्यदलका सदस्यहरुले धोका दिएको टिप्पणी हुनथालेको छ। अहिले उनीहरु बाहिरबाट हेर्दा अध्यक्ष ओलीतर्फ ढल्किए झैं देखिए पनि पार्टी विभाजन हुने स्थितिमा कसलाई साथ दिन्छन् भन्ने जोडघटाउ हुन भने बाँकी नै छ।
यसबीचमा एमाले एकताका लागि भन्दै ओलीपक्षबाट विष्णु पौडेल, प्रदीपकुमार ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र विष्णु रिमाल सक्रिय थिए। त्यस्तै, नेपालपक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त थिए। यी दुवैपक्षका नेताहरु सम्मिलित एकता कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमतिपत्र तयार पारेको थियो। तर, त्यो सहमतिले एमालेमा मन भाँचिइसकेका ओली र नेपाल दुबैलाई संवादमा समेत ल्याउन सकेन। त्यो क्रम यसरी बढ्दै गयो कि प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अधिवेशन अन्त्य गरेर नेपालपक्षलाई एमाले फुटाउन सहज हुनेगरी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरे। त्यसैलाई काउन्टर दिन ओलीले नेपालसहित १४ जना नेतालाई कारबाहीको निर्णय गरेका हुन्।
यो निर्णयसँगै एमाले एकताको सम्भावना करिब सकिएको छ। पार्टी एकताका लागि पछिल्लो समय नेपालपक्ष केही नरम देखिएको भए पनि खासै रुचि नदेखाएका ओली सरकारले दल विभाजन गर्ने अध्यादेश सिफारिस गरेपछि आक्रामक बनेका हुन्। कारबाहीको यो निर्णयपछि नेपालपक्षका नेता घनश्याम भुसाल ओलीलाई भेट्न मंगलबार बेलुकी ओलीनिवास बालकोट पनि पुगेका थिए।
'पार्टी एकताका लागि अन्तिम प्रयास गर्छु, कतै चमत्कार हुन्छ कि!' भन्दै भुसाल नेपालपक्षको बैठकबाट सीधै बालकोट पुगे। ‘केपी कमरेडले यसरी भटाभट कारबाही गर्न थालेपछि एकता हुने सम्भावना लगभग टुंगियो। त्यही पनि केपी कमरेडलाई एक पटक भेट्न जान्छु भन्दै घनश्याम कमरेड बालकोट जानुभयो,’ नेपालपक्षको बैठकमा सहभागी एक नेताको भनाई थियो।
भुसालसहित तत्कालीन कार्यदलमा सहभागी नेताहरुसमेत ओलीसँगको भेटमा सहभागी भएका थिए। तर, तर, त्यो भेटले कुनै उपलब्धि हात नपरेको बताइन्छ। यसरी एकतामा प्रयास गरेका भुसाल नेपाललाई छोडेर ओलीतिर जान्छन् भन्ने धेरैले विश्वास गरेका छैनन्। तर, भुसालले आफ्नो पछिल्लो मूड कतै खुलाएका छैनन्।
कार्यदलमा सहभागी नेपालपक्षका अर्का नेता भीम रावललाई ओलीले आफ्नो उत्तराधिकारी हुनेगरी नेतृत्वमा आउन आग्रह गरेको चर्चा सार्वजनिक भएकाले नेपालपक्षका धेरैले उनलाई शंकाको नजरले हेरिरहेका छन्। मंगलबार उनले सामाजिक सञ्जालमा दिएका अभिव्यक्ति पनि त्यस्तै छन्। उनका अभिव्यक्तिले उनी नेपाल समूहबाट टाढा गइसकेको संकेत गर्छन्। तर, उनले पनि अब आफ्नो कित्ता कता हुने भन्ने प्रष्ट गरिसकेका छैनन्।
अर्का नेता गोकर्ण विष्टले पछिल्लो समय पार्टी एकतामा निक्कै जोड गरेका थिए। उनले सरकारले ल्याएको दल विभाजन सहज हुने अध्यादेशको चर्को विरोध गरेका छन्। ओलीको कारबाहीको निशानामा नपरेका उनी अब कता खुल्छन् भन्नेबारे स्वयं नेपालपक्ष नै ढुक्क देखिँदैन। कार्यदलकै अर्का सदस्य सुरेन्द्र पाण्डे जसरी पनि पार्टी एकता गर्नुपर्ने पक्षमा उभिएका छन्। अन्तिम अवस्थामा पाण्डेले कता पाइला टेक्छन् भन्नेबारे ५०-५० प्रतिशत सम्भावना रहेको नेपालपक्षका अर्को एक नेताले दाबी गरे।
कार्यदलमा सहभागी नेता पन्त नेपालपक्षको प्रवक्ताको समेत जिम्मेवारी दिएकाले ओलीपक्षमा नजानेमा ढुक्क जस्तै छन्। उनको निर्णयलाई समेत नेपालपक्षका नेताहरुले नजिकबाट नियाल्ने प्रयास गरेका छन्। नेता योगेश भट्टराईको आमाको निधन भएकाले मातृ शोकमा छन्। उनी शोकमा भए पनि सामाजिक सञ्जालबाट पार्टी विभाजन हुनेगरी ल्याउन थालिएको अध्यादेशको चर्को विरोध गरेका छन्। तर, उनी पार्टीको भविष्यलाई हेरेकाले नेपाललाई छोडेर ओलीतिर जान्छन् कि भन्नेमा बढ्दा शंका गरेका छन्। यस्तै नेता अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई पछिल्लो समय नेपालपक्षका नेताहरुले बढ्दा शंका गर्न थालेका छन्। पछिल्लो समय शाक्य र ज्ञवालीको टोन फेरिएको, त्यसमा गुटको भेलाहरुमा आशंकाको नजरले हेर्न थालिएको छ।
सम्भवतः नेपाल समूहभित्रको यही परिदृष्यलाई ध्यानमा राखेर ओलीले मंगलबार केही सीमित नेतामाथि मात्र चलाखीपूर्वक कारबाहीको डण्डा चलाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।