काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन् ।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले पहिलोपटक आफ्नो समुदायका माझ विवाहको कुरा सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए ।
उनले आफ्नो विवाहमा गुरुङ समुदायको मौलिक कला, संस्कृति, भेषभूषा र परम्परालाई प्राथमिकता दिने स्पष्ट पारे।
‘मंसिर १७ गते मैले विवाह गर्ने भएको छु। आफ्नो समुदायका माझ पहिलोपटक यो कुरा सार्वजनिक गर्न पाउँदा मलाई एकदमै खुसी र गर्व लागेको छ,’ उनले भने, ‘मेरो विवाह पनि एकदमै गुरुङ परम्पराअनुसार गर्ने सोच बनाएको छु ।’
गुरुङले विवाहका लागि गोरखा रोज्नुको कारण आफ्नो पुर्खाको इतिहास, समुदायको पहिचान र मौलिक संस्कृति जोगाउने उद्देश्य रहेको बताए । आफूले अहिले आफ्नो खुसीका लागि मात्रै नभई आगामी पुस्तालाई आफ्नो इतिहास र पहिचान हस्तान्तरण गर्न पनि परम्परागत शैलीमा विवाह गर्न लागेको उनको भनाइ छ ।
‘आफ्नो समुदाय, समाज, इतिहास, पुर्खा र गाउँठाउँ बिर्सेर अर्काको संस्कृति अपनाउँदै नयाँ शैलीमा विवाह गर्न मलाई छैन। आफ्नो देशको इतिहास, परम्परा, भेषभूषा र जातीय पहिचान जोगाउनका लागि गोरखा रोजेको हुँ,’ उनले भने ।
उनले विवाहलाई प्रतिष्ठा र प्रतिस्पर्धाको विषय बनाउने सामाजिक प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए । ऋण लिएर भए पनि भव्य भोजभतेर र तामझाम गर्नुपर्ने मानसिकता गलत भएको उनको धारणा छ ।
‘विवाह भनेको एकअर्काका लागि हो, अरूका लागि होइन । दुःख–सुखमा साथ दिने भनेको श्रीमान्–श्रीमती र आफ्नो परिवार हो । त्यसैले विवाहमा अनावश्यक खर्च र तामझाम गर्नुपर्छ भन्ने मलाई लाग्दैन,’ उनले भने ।
गृहमन्त्री गुरुङले आफ्नो विवाहमा सीमित व्यक्तिहरू मात्रै सहभागी हुने जानकारी दिँदै सबैलाई निमन्त्रणा गर्न नसक्ने पनि बताए । पार्टी प्यालेसमा भव्य समारोह गर्न सकिने अवस्था भए पनि त्यसो नगरी परम्परागत शैलीमा विवाह गर्ने आफ्नो र हुनेवाला श्रीमती दुवैको इच्छा रहेको उनले सुनाए ।
उनले गोरखाको उक्त स्थानलाई भविष्यमा पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावनासमेत औँल्याए । आफ्नो विवाहले गाउँघरका होमस्टे, स्थानीय कला–संस्कृति र हिमाली पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने चाहना रहेको उनको भनाइ थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।