काठमाडौं– दुई वर्षअघि दोषी करार गर्दै जेलमा राखिएका नेपाली सेनाका दुई सैनिकको मुद्दामा नयाँ 'ट्विस्ट' आएको छ। उनीहरु सैनिक ब्यारेकबाट हतियार हराएको अभियोगमा जेल परेका थिए।
साउन ७ गते चितवनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या भएपछि प्रहरीले बरामद गरेको एसएमजी (सर्ट मेसिन गन) हत्यामा प्रयोग भएको पाइएपछि नयाँ ‘ट्विस्ट’ आएको हो।
गुरुङको हत्या अनुसन्धानका क्रममा उनकै सहकर्मी सैनिक जवान गंगाधर ढकाल पक्राउ परेका थिए। हत्यामा प्रयोग भएको हतियार एसएमजी जिल्ला प्रहरी कार्यालय चितवनले बरामद गरेको थियो।
प्रहरी अनुसन्धानका क्रममा हत्यामा प्रयोग भएको १०७९२ नम्बरको एसएमजी नेपाली सेनाकै भएको पत्ता लागेको थियो। उक्त हतियार चोरी गरेको आरोपमा दुई वर्षअघि कालिबहादुर गणमा कार्यरत सिपाही लव गुरुङ र सरोज तामाङलाई सेनाले दोषी करार गर्दै जेलसमेत चलान गरेको थियो।
तत्कालीन मेजर दीपेन्द्र श्रेष्ठसहितको टोलीले छानबिनपश्चात कोर्ट मार्सलसमेत गरी दुई सैनिक जवान (गुरुङ र तामाङ)लाई दोषी करार गर्दै जेल पठाएको थियो। तर, अहिले चोरी भएको भनिएको एसएमजी हुद्दा भरत गुरुङको हत्यामा प्रयोग भएको पाइएपछि हाल जेलमा रहेका दुई सैनिक दोषी हुन् वा निर्दोष भन्ने अन्योल देखापरेको छ।
नेपाल लाइभले यसबारे सैनिक प्रवक्ता, सहायकरथी सन्तोषबल्लभव पौडेलसँग जिज्ञासा राख्दा उनले भने, ‘हत्यामा प्रयोग भएको भनिएको हतियार सेनाबाटै चोरी भएको भन्ने जानकारी आएपछि यसबारे हामीले अनुसन्धान गरिरहेका छौं। उक्त हतियार चोरीमा हाल जेलमा रहेका सैनिकद्वय दोषी हुन् वा निर्दोष भन्ने पुष्टि हुन बाँकी नै छ।’
हत्या आरोपमा पक्राउ परेका सैनिक जवान ढकालले आफूले नै उक्त हतियार चोरी गरेको स्वीकार गरेको चितवन प्रहरीको दाबी छ। यद्यपि, उनले चोरीमा आफ्नो संलग्नता स्वीकार गरे पनि उक्त हतियार चोरीमा उनीबाहेक अरुको संलग्नता थियो वा थिएन भन्नेबारे पुष्टि हुन बाँकी छ।
सैनिक प्रवक्ता पौडेलले नेपाल लाइभसँग भने, ‘हामीले पनि छानबिन गरिरहेका छौं। प्रहरीको अनुसन्धानलाई सहयोग गरिरहेका छौं। अनुसन्धानमै रहेकाले यो विषयमा अहिले नै यो दोषी यो निर्दोष भन्न सक्ने अवस्था छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।