काठमाडौं- लामोसाँघु-जिरी सडक खण्डको काम अलपत्र पारेको भन्दै सुनौलो खिम्ती निर्माण कम्पनीका ठेकेदार धर्मराज भण्डारीलाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ।
स्वीस सरकारको सहयोगमा निर्माण सम्पन्न भएको लामोसाँघु जिरी सडक खण्डको स्तरोन्नति कार्य ठेकेदार र आयोजनाको विवादका कारण ढिलाइ हुँदै आएको थियो।
सन् १९७५ देखि १९८५ सम्म स्वीस सरकारको सहयोगमा निर्माण भएको अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको खाडीचौरबाट दोलखाको जिरीसम्म ११० किलोमिटर लामोसाँघु जिरी सडकको चौडा बढाउने कार्य ३ वर्षदेखि भइरहेको छ। अक्टोबर २०१५ देखि सुरु गरिएको स्तरोन्नति कार्य दुई वर्ष अर्थात् २०१७ को अक्टोबरसम्ममा सकिनुपर्नेमा हालसम्म नसकिएपछि केन्द्रको निर्देशनमा ठेकेदारलाई पक्राउ गरिएको हो।
भारतको एक्जीम बैंकको सहयोगमा खाडीचौरदेखि मुडेनजिकै २५ किलोमिटर सडक निर्माण भारतको सीमाञ्चल निर्माण कम्पनी र नेपालको गौरी पार्वती र सुनौलो खिम्ती कन्स्ट्रक्सनले पाएको थियो।
भ्याटसहित ५१ करोड ४४ हजार ८ सय १० रुपैयाँको लागतमा सडक चौडा गर्ने र कालोपत्रे गर्ने जिम्मा उक्त कम्पनीहरुले पाएका थिए।
त्यस्तै मुडेबाट चरिकोटसम्मको ३० किलोमिटर सडक स्तरोन्नतिको जिम्मा भारतको सकिल हैदर, शंकर माली र नेपालको सुनौलो खिम्तीले पाएको थियो।
२०१५ को जुन १४ मा सम्झौता भएको र २०१८ को १ मार्चमा सडक मर्मत कार्य सक्नुपर्ने भए पनि यो खण्डको कामसमेत सकिएको छैन। भ्याटसहित ९१ करोड ९४ लाख ९४ हजारमा सडक कालोपत्रे र चौडा बनाउनुपर्ने आयोजना अहिले पनि अलपत्र अवस्था रहेको छ। खिम्तीपछि अन्य जेभी कम्पनीका ठेकेदारलाई पनि पक्राउ गर्ने तयारी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।