काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको काम, कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
अर्थमन्त्री खतिवडाले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माणको काममा ढिलाई गरेकोमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
बुधबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्धारा आयोजित ‘निजी आवास पुनःनिर्माणसम्बन्धि समस्या पहिचान र समाधान’ विषयक काठमाडौं जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले सरकारले निजी आवास पुनःनिर्माणको काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएपनि सो अनुसारको काम हुन नसकेको स्पष्ट पारे।
अर्थमन्त्री खतिवडाले जमिनको उचित व्यवस्थापन, गुठीलगायतको समस्या समाधान गरेर काठमाडौं उपत्यका भित्रको निजी आवास पुनःनिर्माणको कामलाई सहज ढंगले अघि बढाउन प्राधिकरणलाई सचेत पनि गराएका छन्। उनले जनप्रतिनिधिहरुलाई पनि निजी आवास पुनःनिर्माणको काममा सक्रियतापूर्वक सहभागी हुन पनि आग्रह गरेका छन्। खतिवडाले पुनःनिर्माणको कामका लागि आवश्यक कार्यविधि बनाउन सरकार तयार रहेको पनि स्पष्ट पारे। एक वर्षभित्र निजी आवास पुनःनिर्माणको काम सम्पन्न गरिसक्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षमा १ सय ५१ अर्ब बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री खतिवडाले वैदेशिक अनुदान सहायताबाट पुनःनिर्माणका लागि ऋणस्वरुप लिईएको रकम दुरुपयोग नगर्न पनि सम्बन्धित निकायलाई सचेत गराए। उनले पुनःनिर्माणको कामलाई पारदर्शी ढंगले अघि बढाउन पनि सम्बन्धित निकायलाई कडा निर्देशन दिए।
अर्थमन्त्री खतिवडाले विकास, सुशासन र विपद् व्यवस्थापनको कामलाई सम्पन्न गर्ने दायित्व पूरा गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि सचेत गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।