काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुका लागि सञ्चलित जानकारीमूलक कार्यक्रम सरकारको वार्षिक बजेट र कार्यक्रमअन्र्तगत भएको स्पष्ट पारेका छन्। उनले त्यसबारे विभिन्न दात्तृ निकायसँग जोडेर टिप्पणी नगर्नसमेत सबैलाई सचेत गराएका छन्।
सांसदहरुले आ–आफ्नो क्षेत्रको योजना लिएर सिंहदरबार धाउनुपर्ने स्थितिको अन्त्य गर्न अध्यक्ष तिमिल्सिनाले सरकारको ध्यानाकर्षण गराएका छन्।
संघिय संसद सचिवालयले बुधबार सांसदहरुका लागि सञ्चालन गरेको संसदीय प्रक्रिया सम्बन्धी जानकारीमुलक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सांसदहरुले योजनाको फाइल बोकेर टेबल चाहार्नुपर्ने स्थितिको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
योजना पार्ने र बजेट निकासा गराउने काममा दौडधुप गर्नुपर्दा संघीय संसदको बैठकमा सांसदहरुको उपस्थिति प्रभावित भएको भन्दै उनले त्यस किसिमको पद्धतिको अन्त्य हुनुपर्ने धारणा राखे। उनले आवश्यकता र प्राथमिकताका आधारमा न्यायोचित ढंगले योजना र बजेट छुट्याउन सरकारलाई सुझाए। उनले भने, ‘सिंगो सरकारको ध्यान यतातिर आकर्षित गराउन चाहन्छु। भोलिका दिनहरुमा माननियज्यूहरुले फाइल लिएर भर्याङ र कोठा–कोठा चाहार्नुपर्ने अवस्थाको अन्त्य भयो भने यो सुशासनको एउटा नमुना हुनेछ।’
उनले संसदलाई आवश्यक ‘विजनेस’ दिन पनि सरकारसमक्ष आग्रह गरेका छन्। संविधानमा नै ३ वर्षभित्र गरिसक्नुपर्ने भनेका विषय जसरी पनि निर्धारित अवधिमा सम्पन्न गर्नुपर्ने भएकाले आवश्यक विधेयकलाई ढिला नगरि संसदमा टेबल गर्नुपर्नेमा उनले जोड दिए। ‘संघीय संविधान अनुसारको आवश्यक कानुन अभाव भएकोले काम गर्न पाएनौँ भन्ने प्रदेश र स्थानीय सरकारको गुनासो आइरहेकोमा सबै जानकार नै छौँ।’, उनले भने, ‘यस्तो अवस्था सुन्न नपर्ने गरि विधेयक बनाउन केन्द्र सरकारको ध्यानाकर्षण गराउँछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।