काठमाडौं– सभामुख कृष्णबहादुर महराले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न संघीय संसदका सांसदहरुलाई आग्रह गरेका छन्।
सांसदहरुलाई संसदीय प्रक्रिया सम्बन्धी जानकारी दिन बुधबार संघीय संसद भवन नयाँबानेश्वरमा आयोजित कार्यक्रममा सभामुख महराले सक्रिय, शृजनशील र प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरुको ध्यानाकर्षण गराएका हुन्।
सरकारलाई आवश्यक पर्ने नीति, नियम, कानुन बनाउनुपर्ने भएकाले अध्ययनशील हुन पनि उनले सांसदहरुलाई सचेत गराए। संसदले निर्माण गर्ने कानुन र नीतिका आधारमा राज्यको सुव्यवस्था कायम हुने उल्लेख गर्दै उनले सरकार कानुनअनुसार चल्यो चलेन भनेर अनुगमन गर्ने जिम्मेवारी पनि संसदको भएकाले सांसदहरुको सहभागिता र सक्रियता अत्यावश्यक रहेकोमा जोड दिए।
सभामुख महराले संसद सञ्चालन नियमावली बनिसकेपछि संसद अन्तर्गतका समितिका साथै अन्य संसदीय प्रक्रिया पनि सञ्चालन हुने भएकाले सबै सांसदहरुलाई सक्रिय सहभागिता जनाउन पनि आग्रह गरे।
सांसदहरुलाई संसदीय प्रक्रियासम्बन्धी जानकारी दिने उद्देश्यले संघीय संसद सचिवालयले २ दिने जानकारीमुलक कार्यक्रम सञ्चालन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।