काठमाडौं- विभिन्न व्यक्ति र बैंकबाट समेत गरी करिब २ करोड रुपैयाँ ठगी गरेर पोर्चुगल पुगेका एक व्यक्तिलाई इन्टरपोलको सहयोगमा काठमाडौं ल्याइएको छ।
काभ्रेको भुम्लुका केदार ढुंगानालाई इन्टरपोलको सहयोगमा पोर्चुगलबाट शनिबार काठमाडौं ल्याइएको प्रहरी प्रवक्ता, एसएसपी वसन्त कुँवरले जानकारी दिए। उनले तत्कालीन इनडिइपी डेभलपमेन्ट बैंक र विभिन्न व्यक्तिबाट गरी करिब २ करोड ठगी गरेका थिए।
उनीविरुद्ध सीआईबीले लामो समयदेखि अनुसन्धान गरेको थियो। सीआईबीकै पहलमा इन्टरपोलमार्फत् उनलाई काठमाडौं ल्याइएको हो। सीआईबीले ढुंगाना समूहकै ठगी प्रकरणमा २०७५ सालमा भुम्लुकै नारायण श्रेष्ठ, नवीन श्रेष्ठ, काभ्रेकै कृष्णबहादुर खत्री, काठमाडौंका नरेशमान सिंह, सरिनशंकर श्रेष्ठलाई पक्राउ गरेको थियो।
नरेशमान बैंकका भ्यालुएटर थिए भने सरिनशंकर ब्रान्च म्यानेजर थिए। यो गिरोहका सबै सदस्य त्यसबेला पक्राउ परेपनि मुख्य योजनाकार ढुंगाना भने फरार भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।