चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको पूरै भागमा पहिलो तहको कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ।
नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार मंगलबार राति १२ बजे सो सडकको ३३ दशमलब २ किलोमिटरमा पहिलो तहको कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो।
यससँगै दैनिक बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारी रोकेर काम गरिँदै आएकोमा आजदेखि सवारी नरोकिने खनालले बताए। उनका अनुसार दोस्रो तह ३२ दशमलब ७ किलोमिटर र तेस्रो तह १२ दशमलब ७ किलोमिटर कालोपत्र गरिएको छ। पहिलो र दोस्रो तहमा ६÷६ सेन्टिमिटर र तेस्रो तह चार सेन्टिमिटर बाक्लो हुनेछ। उच्च स्तरको कालोपत्र भएकाले पहिलो तह सम्पन्न भएसँँगै पहिरोबाहेक अन्य जोखिमबाट सडक मुक्त भएको हो।
सो सडकलाई तीन भागमा विभाजन गरेर काम गरिएको छ। पहिलो खण्ड आँपटारीदेखि दासढुंगासम्मको १० दशमलब ४५ किलोमिटरको ठेक्का पाएको बीएलए श्रेष्ठ जेभिले पहिलो र दोस्रो तह पूरै कालोपत्र गरिसकेको छ भने तेस्रो तहको दुई किलोमिटर सडक कालोपत्रे गरेको आयोजनाले जनाएको छ। सो सडक खण्डको तेस्रो तहको कालोपत्र र सडक सुरक्षाको काम मात्रै बाँकी रहेको खनालले बताए।
दोस्रो खण्ड दासढुंगादेखि सिमलतालसम्मको १० दशमलव ६९ किलोमिटर सडकको अधिकांश काम सम्पन्न भएको छ। सो खण्डमा उड्हिल लामा जेभीले निर्माणको जिम्मा पाएको थियो। सो खण्डको कार्यप्रगति ९७ दशमलब ५० प्रतिशत भएको छ। एक वर्षसम्म काम हेर्नु पर्ने भएकाले प्रगति शतप्रतिशत हुन एक वर्ष कुर्नुपर्ने हुन्छ।
तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको १२ दशमलब १५ किलोमिटर हो। सो खण्डको प्रगति ८५ प्रतिशत भएको सूचना अधिकारी खनालले जानकारी दिए। उक्त खण्डको ११ दशमलब ८० किलोमिटर सडकमा दोस्रो तहको कालोपत्रे गर्ने काम सम्पन्न भएको छ भने तेस्रो खण्ड पूरै बाँकी छ। तेस्रो खण्डमा कालोपत्र, रोड एङ्करिङ् र सडक सुरक्षाको काम बाँकी रहेको खनालले बताए।
मौसम अनुकूल भएमा एक दिनमा दोस्रो र तेस्रो तहको गरी एक किलोमिटर सडकमा कालोपत्र गर्न सकिने भएकाले लामो समय नलाग्ने उनी बताउँछन्।
चौथो पटकको मिति थपअनुसार पहिलो खण्डको गत मे १० मा म्याद सकिएको छ भने दोस्रो खण्डको मे २० र तेस्रो खण्डको मे ३० मा सकिएको हो। हालसम्म सो सडकको समग्र प्रगति ९१ दशमलव ५ प्रतिशत भएको बताइएको छ। पुरा काम बाँकी रहेकाले समय थप गर्ने प्रक्रिया अघि बढाइएको छ।
सो सडक सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो। लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्सात् बढी भएका कारण समय थप गरिँदै आएको छ।
कालोपत्र गर्ने काम सम्पन्न भएसँगै पहिरो झर्ने र गाडी बिग्रिने नभएमा एक घण्टा भित्रमा सो सडक पार गर्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख सन्तोष पन्तले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।