इनरुवा– सुनसरीको कोशी गाउँपालिका–६ मा एउटै खोरमा रहेका कुखुराका करिब ४ सय चल्ला मरेका छन्।
स्थानीयवासी उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक चल्लाको मृत्यु भएको स्थानीय पशु स्वास्थ्य प्राविधिक पप्पु पाठकले जानकारी दिए। यादवले कैलाशपति ह्याचरी चितवनबाट ल्याएको चल्ला मधुवनका वासु श्रेष्ठसँग खरीद गरेका थिए।
यहाँ ४ सय चल्ला एकैचोटी मरेकाले स्थानीयवासी र पशु प्राविधिकले बर्डफ्लुको आशंका गरेका छन्। चितवनमा बर्डफ्लु फैलिएका कारण त्यहाँबाट चल्ला ल्याएकाले चल्लामा बर्डफ्लुु हुनसक्ने स्थानीय पशु प्राविधिक पाठकले आशंका व्यक्त गरे।
किसान यादवले प्रतिगोटा ४५ रुपैयाँका दरले करीब १८ हजार रुपैयाँको चल्ला ल्याएको र १२ घण्टा नबित्दै सबै चल्लाको मृत्यु भएकाले स्थानीयवासी सशंकित भएका हुन्। केहीले एकाएक यति ठूलो संख्यामा चल्ला मर्नुलाई बर्डफ्लुको नै लक्षण भएको आशंका गरेका छन्।
आवश्यक चेकजाँच तथा परीक्षण गर्नका लागि जिल्ला पशुसेवा कार्यालयलाई समेत आग्रह गरेको पीडित किसानलाई उद्धृत गर्दै प्राविधिक पाठकले बताए।
यता किसान यादवले आफूले ल्याएको चल्ला एक्कासि मरेपछि बिक्रेतासँग क्षतिपूर्तिको मागसमेत गरेका छन्। कैलाशपति ह्याचरी चितवनका पूर्वाञ्चल प्रमुख अनिल बस्नेतले आफूले मधुवनका वासु श्रेष्ठलाई चल्ला दिएको र यो विषयमा घटनास्थलमा पुगेपछि मात्र केही भन्न सकिने बताए।
त्यस्तै, जिल्ला पशुसेवा कार्यालय, सुनसरीका प्रमुख शिवनाथ महतोले भने आफूलाई सो विषयमा जानकारी नआएको प्रतिक्रिया दिए। प्रमुख महतोले जिल्लाका किसानलाई चितवनमा बर्डफ्लु फैलिएका कारण त्यहाँबाट पंक्षी तथा पंक्षीजन्य पदार्थ ल्याउन कडाइ गरेकोे भए पनि किसानले आफूखुशी गरेकाले त्यसो हुन गएको बताए।
उनले भने,‘यादवले किन त्यहाँबाट चल्ला ल्याउन हतार गर्नुभएको हो मलाई थाहा छैन। बर्डफ्लुको आशंका भए त्यसको सुली र मृत चल्ला परीक्षणका लागि विराटनगरस्थित प्रयोगशालामा लैजानका लागि आग्रह गर्दछु।’
देशका विभिन्न भागमा बर्डफ्लुको जोखिम तथा प्रभावित भएको प्रतिक्रिया दिँदै प्रमुख महतोले किसानले नै त्यस्तो जोखिम मोलेर चल्ला ल्याएकाले सो घटना हुन गएको दावी गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।