काठमाडौं– सुन तस्करी प्रकरणमा फरार रहेका एक व्यक्ति विमानस्थलमा पक्राउ परेका छन्।
दक्षिण कोरियाबाट फर्कने क्रममा काभ्रेका राम तिवारीलाई अध्यागमन कार्यालयले पक्राउ गरेको हो। तिवारी सो प्रकरणका एक मुख्य पात्र चुडामणि उप्रेती ‘गोरे’का सहयोगी हुन्।
तिवारीले गोरेलाई विभिन्न निकायका सेटिङ मिलाउन सहयोग गरेका थिए। गोरे र डिएसपी प्रजित केसीबीच पनि तिवारीको कुरा उठेको थियो। गोरेले तिवारीलाई भेट्न आग्रह गर्दा डिएसपी केसीले आफूले नचिनेको बताएका थिए। सोही आधारमा छानबिन समितिले तिवारीको पनि खोजी गरेको थियो।
सुन तस्करीमा प्रकरणमा उनी रहस्यमय पात्र भएको र तिवारी पक्राउ परेपछि सो प्रकरणमा थप केही तथ्य खुल्ने अपेक्षा रहेको छानबिन समितिका एक अधिकारीले बताए। अध्यागमनले तिवारीलाई छानबिन समितिको जिम्मा लगाएको छ।
अनुसन्धानका क्रममा विशेष समितिले ३६ जनालाई पक्राउ गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।