काठमाडौं– स्वेच्छिक अवकाश रोजेका कर्मचारीहरुले अवकाश प्रक्रियाबाट फिर्ताका लागि निवेदन दिन थालेका छन्। सरकारले स्वेच्छिक अवकाशसम्बन्धि कार्यक्रम संशोधन गर्दै फिर्ताका लागि निवेदन दिन सक्ने प्रावधान राखेको थियो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीका अनुसार मंगलबारसम्म करिब एक सय कर्मचारीले फिर्ताका लागि निवेदन दिएका छन्। निवेदन दिने क्रम जारी रहेको उनले बताए।
गत साताको मन्त्रिपरिषद्को बैठकले स्वेच्छिक अवकाश कार्यक्रम संशोधन गर्दै स्वेच्छिक अवकाशका लागि निवेदन दिइसकेका कर्मचारीले अवकाश कार्यक्रमबाट फिर्ता हुन पाउने प्रावधान राखेको थियो। यसअघि निवेदन दिएपछि फिर्ता लिन नपाइने प्रावधान राखिएको थियो।
शेरबहादुर देउवा सरकारले समायोजनमा नजाने कर्मचारीका लागि स्वेच्छिक अवकाश कार्यक्रम ल्याएको थियो। करिब ६ हजार ५ सय कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका थिए।
नयाँ सरकारले स्वेच्छिक अवकाश कार्यक्रम स्थगित गरेर फिर्ता हुन सक्ने प्रावधान राखेको हो। अहिले धेरै कर्मचारी चाहिएको अवस्थामा स्वेच्छिक अवकाश दिन नसकिने र त्यसका लागि बजेट समेत नभएको भन्दै सरकारले कार्यक्रम स्थगित गरेको हो।
स्वेच्छिक अवकाशका लागि निवेदन दिएका र यही अवधिमा अवकाश पाएका कर्मचारीहरुको हकमा यो कार्यक्रम आकर्षित नहुने मन्त्रालयले जनाएको छ। उनीहरुको पेन्सन पट्टा बन्ने मन्त्रालयका प्रवक्ता सहसचिव अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।