काठमाडौं– नेकपा एमालेले लुम्बिनी प्रदेश संसदीय दलको बैठक बोलाएको छ। आज दिउँसो बोलाइएको संसदको विशेष अधिवेशन तथा बैठकमा टेबल हुने अविश्वासको प्रस्तावको विषयमा छलफल गर्न बैठक बोलाएको जनाइएको छ।
सोही विषयमा छलफल गरी रणनीति तय गर्न अहिले मन्त्रिपरिषदको बैठक बसिरहेको छ। मन्त्रिपरिषदको बैठकपछि संसदीय दलको बैठक बस्ने तयारी गरिएको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए।
बैठकपछि मात्र प्रदेश सरकारको आगामी कदमबारे रणनीति तय हुने उनको भनाइ छ। ‘मुख्यमन्त्रीले के गर्नुहुन्छ बैठकपछि मात्र थाहा हुन्छ,’ उनले भने।
दलको बैठकले अविश्वासको प्रस्तावको सामना गर्ने या राजीनामा दिने भन्ने टुंगो लगाउने उनले संकेत गरे।
विपक्षी दलहरुले मुख्यमन्त्रीविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न बुधबार प्रदेश सभाको विशेष अधिवेशन शुरु हुँदैछ।
अल्पमतमा रहेको शंकर पोखरेल नेतृत्वको सरकारसँग एमालेका ३८ सांसद छन् भने विपक्षमा ४१ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।