काठमाडौं– लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज (बुधबार) दिउँसो १ बजे बस्दै छ।
आजको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने जनाइएको छ। अविश्वासको प्रस्तावमाथि आज नै मतदानसमेत हुनेछ।
मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनले साउन १९ गते अविश्वास प्रस्ताव दर्ता गराएकाे थियाे।
माओवादी केन्द्रका कुलप्रसाद केसी (सोनाम) लाई मुख्यमन्त्री बनाउने गरी विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेकाे हाे।
कुल ८० सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४१ सांसद आवश्यक पर्छ। सत्तारुढ दल एमालेका ३८ सांसद छन्।
विपक्षी दल नेपाली कांग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी विपक्षी गठबन्धनमा ४१ सांसद छन्।
संसदीय गणित हेर्दा सरकार टिकाउन एमालेलाई तीन सांसद आवश्यक पर्दछ। एमालेको पक्षमा तीन जना सांसद थपिने सम्भावना देखिँदैन।
कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति बनेको छ। माओवादी केन्द्र र कांग्रेसले ८/८ महिना सरकारको नेतृत्व गर्ने सहमति गरेका हुन्। मुख्यमन्त्री शंकर पोखरेल बिरुद्दको तेस्रो पटकको अविश्वासको प्रस्तावपछि संसदमा मतदान हुने अवस्था बनेको हो।
यता, सत्तारुढ दल एमाले भने विशेष अधिवेशनको विरुद्धमा अदालत गएको छ। मंगलबार ’हेर्दा हेर्दै’ मा सकिएको उक्त रिटको सुनुवाइ आज हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।