काठमाडौं- लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन्। जनता समाजवादी पार्टीबाट मन्त्री बनेका उनले मंगलबार मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएका हुन्।
उनले सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त ठानेर राजीनामा दिएको उल्लेख गरेका छन्। आजै जसपाको संसदीय दलको बैठकले लुम्बिनी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको र सोही निर्णयअनुसार राजीनामा दिएको उनले बताएका छन्।
जसपाबाट मन्त्री बनेका विजयबहादुर यादव र कल्पना पाण्डेयले भने राजीनामा दिएका छैनन्। गत वैशाख ६ गते पोखरेल नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री बनेका तीनै जनालाई जसपाले कारबाही गर्दै सांसद पदबाट हटाउन प्रदेशसभा सचिवालयलाई सिफारिस गरेको थियो। सोहीबमोजिम प्रदेससभा सचिवालयले उनीहरुलाई सांसद पदबाट मुक्त गरेको थियो। त्यसविरुद्ध उनीहरु सर्वोच्च अदालतमा पुगेका थिए। तर, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेका कारण तीनै जनाको सांसद पद गुमिसकेको छ।
मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बुधबार प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ। प्रदेश सभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्दै छ।
विपक्षी गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन १९ गते मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।