काठमाडौं- नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले महाधिवेशन गर्नका लागि दुई विकल्प अघि सारेको छ।
क्रियाशील सदस्यता विवादमा सम्पूर्णरुपमा समाधान निकालेर महाधिवेशन वा विवाद समाधान नभए १३औं महाधिवेशनको प्रतिनिधिमार्फत् विशेष महाधिवेशन गर्ने विकल्प अघि सारिएको छ। साथै, १४औं महाधिवेशन भदौ २३ अघि गर्नका लागि दबाब सिर्जना गनुपर्ने मत पनि बैठकमा उठेको छ।
दुई दिन बसेर केहीबेरअघि बैठक सकिएको छ। जिल्ला सभापतिहरुले राखेको सुझावका आधारमा बुधबार निर्णय सार्वजनिक गर्ने बताइएको छ। ‘कांग्रेसको इतिहासमै महाधिवेशन सबैभन्दा अन्योलग्रस्त बनेको महसुस हामीले गर्यौं। पार्टीको वैधानिकताको खतरा हामीले देख्यौं,’ बैठकपछि पत्रकारसँग काभ्रे जिल्ला सभापति मधु आचार्यले भने, ‘क्रियाशील सदस्यताकै विषयमा छलफल बढी केन्द्रित भएको थियो। ४० जिल्लामा अहिले पनि समस्या रहेको सूचना छन्।’
भेलामा सहभागीले क्रियाशील सदस्यताको नामावली साइटमा उपलब्ध नगराएकोप्रति आपत्ति जनाएका थिए। नाम साइटमा उपलब्ध भएमात्रै जटिल खालको समस्या नेतृत्वलाई ध्यानाकर्षण गर्न सकिने आचार्यले बताए। कतिपय नामहरु इन्ट्री नभएको जानकारी आएको उनले सुनाए।
भेलामा ३८ जना जिल्ला सभापति उपस्थित भएका थिए। १३ जिल्लाका सभापतिले 'भर्चुअल' माध्यमबाट सहभागिता जनाएका थिए। ५० भन्दा जिल्ला सभापतिहरुको भावना भेलामार्फत् आएको आचार्यले जानकारी दिए।
विधिसम्मत १४औं महाधिवेशनका लागि दबाब दिने उद्देश्यसहित भेला डाकिएको थियो। क्रियाशील सदस्यता विवाद, तल्लो तहको अधिवेशन प्रभावित र महाधिवेशनको नयाँ कार्यतालिका लगायतमा सहभागीले धारणा राखेका थिए।
बैठकमा केन्द्रीय नेताहरु पनि सहभागी भएका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, गगन थापालगायतका नेताले आ-आफ्नो विचार राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।