काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउनेगरी विधेयक आएको भन्दै विधेयक फिर्ताको माग गर्दै प्राधिकरणका कर्मचारी आन्दोलित भएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याएर दुई वटा संस्था बनाउनेगरी नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पेस भएको र यसले हवाई सेवालाई महँगो बनाउनुका साथै स्वार्थ समूहको चलखेलले उड्डयन सुरक्षामा नै असर पर्ने भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन्।
सोमबारदेखि सुरु गरिएको आन्दोलनको कार्यक्रम बिहीबारसम्मका लागि सार्वजनिक गरिएको छ। कर्मचारीहरुले बुधबारसम्म प्रत्येक दिन १० बजेदेखि १ बजेसम्म पेन डाउन गर्ने, १२ बजेदेखि १ बजेसम्म कालोपट्टी बाँधेर महानिर्देशकको कार्यकक्ष घेराउ गर्ने, बिहीबारबाट महानिर्देशक लगायतका कार्यकक्षहरुमा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्।
प्राधिकरण टुक्रयाउनका लागि विभिन्न हवाई माफियाहरु र स्वार्थ समूह अनुकूल योजनाबद्धरुपमा कदम चालिएकाले यस विधेयकलाई कुनै पनि हालतमा पास गर्न नदिनेगरी आन्दोलनका कार्यक्रम अगाडि बढाइएको लोकतान्त्रिक कर्मचारी संघका सदस्य सुजन भण्डारीले बताए।
प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष मिनप्रसाद खनालले युरोपियन युनियनले नेपाल लगायतका एसियन मुलुकमा व्यापार गर्ने उद्देश्य राखेको र व्यापारीहरुको साँठगाँठमा संस्था निजीकरण गर्ने बाटोमा लगिएको बताए। प्राधिकरणको रक्षाका लागि आन्दोलन गरिएको उनले उल्लेख गरे।
हवाई यातायात नियन्त्रक संघका अध्यक्ष श्यामकिशोर साहले प्रतिगामी विधेयकको संज्ञा दिदैँ राष्ट्रहितविपरीतका विधेयक रोक्न सफल हुने विश्वास व्यक्त गरे। उनले प्राधिकरणजस्तो नियामक निकायलाई जति कमजोर बनाइन्छ त्यति यसको प्रभाव मानिसहरुको जीउज्यानमा पर्ने भन्दै यसतर्फ सजग रहन सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
यता सरकारले आज (मंगलबार) प्रतिनिधि सभामा प्राधिकरण टुक्र्याउने गरी दुई वटा विधेयक दर्ता गरेको छ। सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रतिनिधि सभामा टेबल गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।