फाइल तस्वीर
काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेश सभा सदस्यबाट पद गुमाएका नेताहरुलाई फेरि चुनाव जिताएर ल्याउने बताएका छन्।
आफूनिकट अनेरास्ववियुले एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्यााएका आशिष झाको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ‘शाहस र बहादुरी देखाएका’ नेताहरुलाई फेरि चुनाव जितेर ल्याउने बताएका हुन्।
‘कर्णालीका साथीहरुले बहादुरी देखाउनु भयो, कायरता देखाउनु भएन’, नेपालले भने, ‘उहाँहरुले जितेको पद खोसिएको छ, अब पार्टी सदस्यता पनि खोसियो भने, त्यहाँ फेरि चुनाव भयो भने उहाँहरुलाई जिताएर ल्याउने जिम्मा मेरो भयो।’
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन एमालेका चार जना सांसदले फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत दिएका थिए। उनीहरुलाई एमालेले सांसद र पार्टीको साधारण सदस्यताबाट निष्काशन गर्ने निर्णय गरेको थियो। सर्वोच्चले शुरुमा अन्तरिम आदेशमार्फत् त्यसमा रोक लगाए पनि पछि उनीहरुलाई कारबाही गर्ने एमालेको निर्णय सदर गरेको थियो।
नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्ष्यित गर्दै आफू कसैको टाङमुनि नजाने बताए। ‘हामी कसैको टाङमुनि जानेवाला छैनौं, अँध्यारो सुरुङमा छिर्नेवाला छैनौं’, नेपालले भने। पार्टीमा शाहस र बहादुरी भएकाहरुको मात्र कदर हुने उल्लेख गर्दै उनले कायरहरुलाई ठाउँ नभएको टिप्पणीसमेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।