काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वाेच्च अदालतको फैसलालाई समर्थन गर्न नसकिने बताएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले सर्वोच्चको फैसला पालना गरेपनि त्यसलाई समर्थन गर्न नसकिने बताएका हुन्। उनले विधिविपरीत आएकाले यो सरकारलाई पनि संवैधानिक भन्न नसकिने बताए।
उनले अदालतले गर्ने फैसला सत्य नै हुन्छ भन्ने नहुने टिप्पणी गरे। उनले आफ्नो कार्यकालमा संसद् विघटन संविधान अनुसार नै भएको भन्दै विघटनको बचाउ गरे। विधि, तर्क र संविधानका तर्क विपरीत सर्वोच्चले फैसला गरेको ओलीको आरोप छ।
संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा परेका विषय गलत रहेको उनको जिकिर छ। ‘अहिलेको सरकार लोकतान्त्रिक विधिबाट आएको होइन। अलोकतान्त्रिक विधिबाट आएको सरकार हो यो। अलोतान्त्रिक गठबन्धनबाट आएको सरकार हो यो। स्वार्थहरूको गठजोडबाट आएको सरकार हो यो’, ओलीले भने।
यस्तै, उनले सरकारले सबैभन्दा पहिले भूमिहीन सुकुम्बासीमाथि बञ्चरो चलाएको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।