काठमाडौं- राष्ट्रिय सभामा एमालेका मुख्य सचेत खिमलाल भट्टराईले मंगलबारको बैठकको विशेष समयमा प्राप्त १० मिनेटमा केपी ओलीलाई राजनेता भएको स्थापित गर्न खर्च गरेका छन्। उनले आफ्नो सम्बोधनमा राजनेताको परिभाषाबाट सुरु गर्दै नेपाली राजनीतिको केन्द्रमा केपी ओली भएको बताए।
'राजनेता भनेको के होला भन्ने पनि लाग्न सक्दछ। तर राजनेता भनिसकेपछि राजनीति उसकै वरिपरि घुम्दो रहेछ। त्यतिकै मान्छे राजनेता हुन पनि सक्दैन। राजनीतिमा कुनै पनि नेता राजनेता हुनका लागि मुख्यतः समाजका सडक, सदन, सरकार तिनवटै ठाउँमा उसैको विचारबाट करिब 'गाइडेड' हुनुपर्ने वा उसका दृष्टिकोणहरुले त्यहाँ प्रभाव पार्नुपर्ने हुन्छ। आज मैले के देखिरहेको छु भन्दा, केपी ओली सिंहदरवार छाडेर, बालुवाटार छाडेर बालकोट जानुभएको छ। तर, राजनीति उहाँकै वरिपरि घुमेजस्तो हामी देख्छौँ', उनले भने।
भट्टराईले ओली सदनमा आउँदा पनि उनकै चर्चा हुने गरेको बताए। अहिले मन्त्रिपरिषद् विस्तार हुन नसक्नुमा पनि केपी ओलीकै फोविया छ कि भन्ने आफूलाई लागेको उनले बताए। 'आज सडकमा पनि चर्चा छ– एउटा आशलाग्दो नेता, सरकार थियो जसलाई घेराबन्दीबाट हटाइयो। नेपालले विकासमा फड्को मार्छ, जनताको जीवन बदलिन्छ भन्ने थियो। जसबाट आशा गरिएका थियो उसलाई घेराबन्दी गरियो। गुटबन्दीबाट उसलाई हटाउने काम भयो। मुद्दा मामिलाबाट हटाउने काम भयो। ढोकाबाट हैन, झ्यालबाट हटाउने काम भयो,' उनले भने।
सडक, सदन र सरकार सबै ठाउँमा केपी ओलीको प्रभाव रहेको भट्टराईको भनाइ थियो। 'वास्तवमा देशले एउटा राजनेता जन्माएको छ। र, त्यो राजनेतालाई पराजित गर्न सम्भव छैन। फेरि पनि राजनेता फर्केर आउँछ भन्ने बुझ्न सकिन्छ,' उनले भने। २०६२/६३ सालपछि ओली नै केन्द्रमा रहेको उनले बताए।
भट्टराईपछि बोलेका कांग्रेस सांसद् रमेशजंग रायमाझीले ओलीलाई भ्रष्टचारी राजनेता भन्न आग्रह गरेका थिए। 'सर्वोच्च अदालतले २८ गते फैसला सुनाउँदै गर्दा (मिति समेत तोकिसकेपछि) गिरिबन्धु टि स्टेटको २८० बिघा जग्गा २४ गते निर्णय गर्नुपर्ने के त्यस्तो जरुरी थियो? झापाको बिर्तामोड चोकदेखि अलिकति अगाडि बसपार्कतिर छिर्ने बाटोमा टि स्टेटहरु थियो। त्यहाँ गर्नुपर्ने आवश्यकता के थियो? जुन सरकारको वैधानिकता समाप्त भइसकेको थियो। त्यो सरकार त्यहाँ अर्बौं रुपैयाँको भ्रष्टचारमा संलग्न सरकारका प्रधानमन्त्री, अनि राजनेता? भ्रष्टाचारी राजनेता भन्नुस् स्वीकार्न तयार छु। भ्रष्टाचारको नाइके भन्नुस्, स्वीकार्न तयार छु,' उनले भने।
उनले राजनेता हुने चरित्र हुनुपर्ने बताए। 'त्यो देखिँदैन। गिरिबन्धु टि स्टेटको जग्गा करौडौं रुपैयाँमा बिक्री हुने जग्गाको सब्सिच्युटमा ताप्लेजुङ बाँदर झर्ने डाँडामा गएर त्यो जग्गा खरिद गर्ने रे! दीपक मल्होत्राको संलग्नतामा त्यो सबै फाइल निर्णय गरेको रे! माफियाहरुसँग सरकारको संलग्नता हुन्छ? सरकारले माफियालाई त 'वाच' गरेर बस्नुपर्यो नि! माफियाको बदमासीलाई रोक्ने बाटोमा हुनुपर्छ नि! तर त्यो देखिएन,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।