काठमाडौं- नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं प्रतिनिधिका सांसद झपटबहादुर रावलले पार्टी एकता जोगाउन अन्तिसम्म प्रयास गर्ने बताएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली एकता भत्काउन उद्दत भएपनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट एकता जोगाउन प्रयास गरिने रावलले बताए।
‘पार्टी विधान संशोधन गरेर केपी ओली पार्टी विभाजन गर्न उद्दत हुनुहुन्छ। यसले उहाँ पार्टी विभाजन गरेर जान खोज्नु भएको छ भन्ने प्रष्ट भयो’ नेपाल लाइभसँग कुरा गर्दै रावलले भने, ‘हाम्रो लडाईं सुदृढ एमाले पार्टी निर्माण गर्ने नै हुन्छ। त्यसका लागि अन्तिमसम्म एकता जोगाउन ध्यान केन्द्रित गर्नेछौं।’
केपी ओलीले पार्टीलाई विधि, विधान अनुसार २०७५ जेठ २ गतेमा नफर्काउँदा समस्या उत्पन्न भएको रावलले बताए। सरकारको नेतृत्व गर्नेदेखि लिएर पार्टी सञ्चालनसम्म आउँदा ओलीमा सत्ताको भोग चरम देखिएको बताए।
‘सकारमा हुँदा मनकारी, स्वच्छाचारी ढंगले चल्नु भयो। आन्दोलनका उपलब्धि सबैलाई तिलाञ्जली दिनुभयो’ रावलले भने, ‘त्यसैगरी पार्टी सत्तामा हुँदा पनि केन्द्रिकृत, स्वेच्छाचारी ढंगले चल्न पाउनेगरी विधान संशोधन गर्नुभयो। यसले उहाँमा सत्ताभोग कति रहेछ भन्ने प्रष्ट हुन्छ।’
आफ्नो तर्फबाट पार्टी एकता जोगाउन गर्न सक्ने सबै विकल्प प्रयोग गरिने रावलले बताए। ओलीले एमाले एकताको 'प्याप्टर क्लोज' भनिसके पनि नेपाल पक्षले एकतामा लचकता देखाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।