काठमाडौं- लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट सुनुवाइका लागि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेसी तोकिएको छ।
सोमबार लुम्बिनी प्रदेश सभा सदस्य लिला गिरीले साउन २७ गते बुधबारका लागि आह्वान गरिएको प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका थिए। उक्त रिट सुनुवाइका लागि मंगलबार न्यायाधीश राउतको बेञ्चमा १०औं नम्बरमा छ। रिट दायरकर्ता गिरी नेकपा एमालेका प्रदेश सभा सदस्य हुन्।
आइतबार नै सर्वोच्चमा कानुन व्यवसायीले विशेष अधिवेशन रोक्न माग गर्दै रिट निवेदन पेश गरेको भएपनि सरोकारवाला नभएको भन्दै दरपिट भएको थियो। साउन २१ गते (बिहीबार) लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते बुधबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेका थिए।
यसअघि गत मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहित एक चौथाइ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएको थियो।
नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका संसदीय दलका नेता वीरेन्द्र कनौडियाको नेतृत्वमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नुका साथै विशेष अधिवेशन समेत बोलाउन माग गरिएको थियो। सोमबार ४१ जना सांसदको हस्ताक्षरसहित माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गरेर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका थिए।
त्यसको भोलिपल्ट गठबन्धनका तर्फबाट प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। लुम्बिनी प्रदेश सभामा ८० सांसदमध्ये मुख्यमन्त्रीको पक्षमा ३९ जना सांसद मात्रै छन्। विपक्ष गठबन्धनमा सभामुखसहित ४१ जना रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।