गौर- पूर्वमन्त्री प्रभु साहले रौतहटको अग्रगामी विरासतलाई माथि उठाउने बताएका छन्। सोमबार गुजरा नगरपालिकाको कटानीमा स्थानीयसँग अन्तरक्रियाको क्रममा साहले देशमा अव्यवस्था, अस्थिरता आएको खण्डमा हरेक पटक रौतहटले त्यसको सामना गरी देशलाई निकास दिँदै आएको बताए।
अहिले देशमा पुनः राजनीतिक संकट बढ़ेकोले यस चुनौतीलाई स्वीकारेर रौतहटले देशलाई सुशासन र सुव्यवस्था प्रदान गर्न आह्वान गरे। केही तत्वहरुले रौतहटको भूमिलाई बदनाम एवम् कलंकित गर्न खोजेको पनि उनको आरोप छ। उनले रौतहटको विरासतलाई आफूहरुले रक्षा गर्ने बताए।
'देशमा जब-जब अव्यवस्था बढ़ेको र प्रतिक्रियावादले शीर उठाएको छ, तबतब त्यसलाई तह लगाएर देशलाई निकास दिने काम रौतहटले गरेको छ। रौतहटको इतिहास छ कि ठूलठूला तानाशाह र सामन्तलाई ढालेको छ। गौरवशाली विरासत बोकेको रौतहटको अगाडि पुनः अर्को च्यालेन्ज आएको छ। अव्यवस्था, र अराजकताले वर्चस्व पाएर देशलाई खोक्रो बनाउँदै गएको छ,' साहले भने, 'रौतहटले यस च्यालेन्जलाई एक्सेप्ट गर्नुपर्छ र देशलाई निकास दिनुपर्छ। अब रौतहटको अग्रगामी विरासतको रक्षा तपाईं हामीले गर्नुपर्छ।'
साहले रौतहटको गुजरासहित फतुवा विजयपुर, कटहरियालगायतका नगरपालिकाका स्थानीयसँग अन्तरक्रिया गरेका थिए। उनले त्यस क्षेत्रमा निर्माणाधीन परियोजनाहरुको अनुगमनसमेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।