काठमाडौं- नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले भदौ २३ अघि महाधिवेशन हुनुपर्ने अडान राख्ने भएको छ।
महामन्त्री डा. शशाङ्क कोइरालानिवासमा बसेको पौडेलपक्षको बैठकले संविधानले दिएको अवधिभित्र महाधिवेशन गर्नुपर्ने अडान पार्टीभित्र राख्ने निर्णय गरेको हो।
महाधिवेशन तोकिएको अवधिमा नहुने संशय पैदा भएसँगै बसेको पौडेलपक्षको बैठकले तल्लो संरचनाको अधिवेशन छोट्याएर भए पनि केन्द्रको महाधिवेशन गर्नुपर्ने निचोड निकालेको हो। 'क्रियाशील सदस्यताको विवाद साउन २८ भित्र टुंग्याउनुपर्दछ। भदौ २३ भित्र १४औं महाधिवेशन हुनुपर्दछ,' बैठकको निर्णय सुनाउँदै नेता गुरुराज घिमिरेले भने।
साउन २८ मा केन्द्रीय समितिको बैठक बोलाइएको छ। त्यसअघि नै क्रियाशील सदस्यताको विवाद टुंग्याउनुपर्ने पक्षमा पौडेल समूह देखिएको छ। तल्लो संरचनाका अधिवेशन छोट्याएर केन्द्रीय महाधिवेशन समयमा गर्न सकिने उक्त समूहको निष्कर्ष छ। वडा, क्षेत्रीय र प्रदेश अधिवेशन गरेर केन्द्रको गर्न सकिने विकल्प अघि सारिएको छ। क्रियाशील सदस्यताको कार्य ९८ प्रतिशत सकिएकोले तोकिएको समयमा महाधिवेशन गर्न सकिने पौडेलपक्षको भनाइ छ।
महामन्त्री कोइरालानिवासमा बसेको बैठकमा सहमतिको वा विशेष महाधिवेशनको विषय उठे पनि आफ्नो समूहको निष्कर्ष तोकिएको समयमा महाधिवेशन भएको घिमिरेले बताए।
बैठकमा भदौभित्र वडा तहको अधिवेशन सुरु गरेर मंसिरमा १४औं महाधिवेशन गर्न सकिने विकल्प पनि केही नेताले उठाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।