काठमाडौं- नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच लुम्बिनी प्रदेशमा आठ/आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ।
मुख्यमन्त्री शंकर पोखरेलले अल्पमतमा परेर राजीनामा दिने अवस्थामा पुगेपछि कांग्रेस र माओवादीबीच आलोपालो प्रणालीमा सरकारको नेतृत्व गर्ने मौखिक सहमति भएको माओवादी केन्द्रका एक सांसदले बताए।
‘सरकारको नेतृत्व गर्ने विषयमा १६ महिनामा कांग्रेस र माओवादीबीच आठ/आठ महिना पालोपालो सरकारको नेतृत्व गर्ने मौखिक सहमति भएको छ,’ ती सांसदले भने, ‘पहिलो कार्यकालको आठ महिना माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’ले मुख्यमन्त्रीको कार्यभार सम्हाल्नुहुनेछ। त्यसपछि कांग्रेसबाट सरकारको नेतृत्व गर्न आउनुहुनेछ।’
प्रदेशमा १० सदस्यीय मन्त्रिपरिषद् बनाउने गठबन्धनमा सहमति भएको उनले बताए। यदि १० सदस्यीय मन्त्रिपरिषद् बनेमा कांग्रेस-माओवादीले तीन/तीन मन्त्रालय र अरु चार मन्त्रालय गठबन्धनमा सहभागी दलले पाउने भएका छन्। तर, कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा भने सहमति नभएको उनको भनाइ छ।
विपक्षी गठबन्धनका सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभामा दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ। मुख्यमन्त्री पोखरेलको पक्षमा ३८ जना सांसद मात्रै भएकाले अल्पमतमा छन्। यता विपक्षी गठबन्धनमा ४१ सांसद रहेका छन्। जसमा कांग्रेसका १९, माओवादीका १८, जनता समाजवादीका तीन र जनमोर्चाका एक जना सांसद रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।