काठमाडौं- नेकपा (एमाले)ले अब पार्टीका कुनै पनि निर्वाचनमा प्यानल बनाएर जान बन्देज लगाउने भएको छ। सोमबार बसेको केन्द्रीय कमिटी बैठकबाट पारित विधान संशोधन प्रस्तावमा यो विषय उल्लेख छ।
एमालेले महाधिवेशनबाट एक अध्यक्षसहित २२५ जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछन्। बाँकी पदाधिकारी केन्द्रीय सदस्यले चुन्नेछन्। समावेशीताको व्यवस्था तोके बमोजिम हुने, सबै तहका पार्टी कमिटी, आयोग वा परिषद्मा न्यूनतम ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चि गर्ने एमालेले उल्लेख गरेको छ।
एमालेले पदाधिकारीको संख्यामा पनि हेरफेर गर्ने भएको। अब एक जना अध्यक्ष, दुई जना उपाध्यक्ष, एक जना महासचिव, उपमहासचिव दुई र सचिव सात जना रहने भएका छन्।
केन्द्रीय कमिटीमा वैकल्पिक सदस्यको व्यवस्था हटाउने, केन्द्रीय कमिटीले मनोनीत गर्नसक्ने केन्द्रीय कमिटीको सदस्य संख्या बढीमा १० प्रतिशत कायम गर्ने व्यवस्था गरिएको छ।
केन्द्रीय कमिटी तथा केन्द्रीय निकायमको निर्वाचनमा समावेशीता र समानुपातिक तथा प्रादेशिक सन्तुलन कायम गर्ने व्यवस्था गरिएको छ।
लामो समयदेखि प्रचलनमा रहेको पोलिटब्युरोको व्यवस्था पनि हट्ने भएको छ। त्यस्तै, ३५ सदस्यीय स्थायी कमिटी गठन गरिने भएको छ। त्यस्तै, राजनीतिक तथा संगठनात्मक कामको नेतृत्व गर्न अध्यक्षको नेतृत्वमा सात सदस्यीय सचिवालय र प्रशासनिक तथा व्यवस्थापकीय कामको नेतृत्व गर्न महासचिवको नेतृत्वमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गरिने भएको छ।
यस्तै, पार्टीका औपचारिक कार्यक्रमहरुमा राष्ट्रिय झण्डा र राष्ट्रिय धुन अनिवार्य गर्ने, औपचारिक कार्यक्रमका अन्य विषय तोकिए बमोजिम हुने र पार्टीको लोगोलाई सूर्य चिन्हभित्र हँसिया हथौडा रहने गरी परिमार्जन गर्ने संशाेधित विधानमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।