काठमाडौं- नेकपा (एमाले)ले अब महाधिवेशनबाट एक अध्यक्षसहित २२५ जना केन्द्रीय सदस्य निर्वाचित गर्ने भएको छ। बाँकी पदाधिकारी केन्द्रीय सदस्यले चुन्नेछन्।
सोमबार बसेको एमाले स्थायी कमिटी बैठको प्रस्तावलाई केन्द्रीय कमिटीमा पारित गरिएपछि अब एमालेको संगठनात्मक ढाँचामा परिवर्तन हुने भएको हो।
पदाधिकारीको संख्यामा पनि हेरफेर गरिएको छ। अब एक जना अध्यक्ष, दुई जना उपाध्यक्ष, एक जना महासचिव, उपमहासचिव दुई र सचिव सात जना रहने भएका छन्।
केन्द्रीय कमिटीमा वैकल्पिक सदस्यको व्यवस्था हटाउने, केन्द्रीय कमिटीले मनोनीत गर्नसक्ने केन्द्रीय कमिटीको सदस्य संख्या बढीमा १० प्रतिशत कायम गर्ने व्यवस्था गरिएको छ।
केन्द्रीय कमिटी तथा केन्द्रीय निकायमको निर्वाचनमा समावेशीता र समानुपातिक तथा प्रादेशिक सन्तुलन कायम गर्ने व्यवस्था गरिएको छ।
लामो समयदेखि प्रचलनमा रहेको पोलिटब्युरोको व्यवस्था पनि हट्ने भएको छ। त्यस्तै, ३५ सदस्यीय स्थायी कमिटी गठन गरिने भएको छ। त्यस्तै, राजनीतिक तथा संगठनात्मक कामको नेतृत्व गर्न अध्यक्षको नेतृत्वमा सात सदस्यीय सचिवालय र प्रशासनिक तथा व्यवस्थापकीय कामको नेतृत्व गर्न महासचिवको नेतृत्वमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गरिने भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।