काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको न्यूनतम कार्यक्रम आफूहरुविरुद्ध गालीगलौजको पुलिन्दा भएको बताएका छन्। तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
'कालापानी, लिपुलेक र लिम्पियाधुरा समस्या भनेर पो आएछ नीति कार्यक्रममा,' उनले भने, 'विचरा राष्ट्रको यत्रो उपलब्धि 'कमफरटेबल' गठबन्धनलाई समस्या भएछ।'
सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आइतबार मात्रै सार्वजनिक गरिएको थियो।
उनले सत्ता गठबन्धनलाई असंवैधानिक र अपवित्र नन्दीभृगी जालीझेलीहरुको गठबन्धन भएको आरोप लगाए। 'भ्रष्टाचारीलाई कारबाही गर्ने रे! क्यान्टोन्मेन्टको भ्रष्टाचार, विगतको लुट, निजी सम्पत्ति कब्जा छानबिन हुन्छ?,' उनको प्रश्न थियो।
उनले वाइड बडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करी काण्ड कहिले भए भन्दै प्रश्न गरेका थिए। 'संलग्न गठबन्धनका नेताहरुलाई कारबाही गर्न सक्नुहुन्छ? कि झुटो मुद्दा लगाएर विपक्षीलाई फसाउने षड्यन्त्र गर्ने प्लान हो? हाछ्युँ खाएँ, बाछ्युँ खाएँ, झुसे बारुलो,' ओलीले थपे, 'एमालेले तमाम देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिको साथ लिएर प्रतिकार गरिनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।