फाइल तस्बिर
काठमाडौं- मन्त्रिपरिषद्को बैठक आज साँझ बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक आह्वान गरेका हुन्।
बैठक साँझ ५:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जानकारी दिइएको छ।
आजको बैठकको मुख्य अजेण्डा कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गर्ने रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषद्मा यससम्बन्धी प्रस्ताव लैजाने जानकारी एक मन्त्रीले दिए। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा सरुवा गर्ने तयारी रहेको ती मन्त्रीले बताए।
यसअघि प्रधानमन्त्री देउवाले प्राधिकरणको प्रमुखमा घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएको समाचार बाहिर आएको थियो। उक्त निर्देशनपछि घिसिङलाई नियुक्त गर्ने 'प्रक्रिया' समेत सुरु भइसकेको ऊर्जा मन्त्रालय स्रोतले बताएको थियो।
प्रधानमन्त्रीको निर्देशनपछि ऊर्जामन्त्री भुसालले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर पदबाट राजीनामा दिन आग्रह गरेको बताइएको थियो। तर, शाक्यले भने आफूलाई राजीनामा दिन नभनेको प्रस्टीकरण दिएका थिए। उनले सरकारले उपयुक्त ठाउँमा जिम्मेवारी दिए प्राधिकरण नेतृत्व छाड्न तयार रहेको बताउँदै आएका छन्। तर, अपमानजनक रुपमा हटाइए अदालत जाने उनको भनाइ छ।
शाक्यले प्राधिकरण प्रमुखको जिम्मेवारी सम्हालेयता प्राधिकरणको नाफा घटेको, अनधिकृत रुपमा विद्युत् कटौती हुने क्रम र विद्युत् चुहावट बढेको भन्दै प्रधानमन्त्री देउवाले कुलमानलाई नै प्राधिकरणको नेतृत्वमा ल्याउन भनेका हुन्।
घिसिङले यसअघि चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए। दैनिक १८ घण्टासम्म हुने विद्युत् कटौती (लोडसेडिङ) अन्त्य गरेका उनले प्राधिकरणको व्यवस्थापनमा पनि 'उल्लेख्य' सुधार गरेका थिए।
घिसिङको कार्यकाल २८ भदौ २०७७ मा सकिएको थियो। त्यतिबेला पनि घिसिङलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गरिनुपर्ने आवाज उठे पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसमा 'रुचि' देखाएका थिएनन्।
घिसिङको कार्यकाल सकिएको झण्डै पाँच महिनापछि २७ माघ २०७७ मा सरकारले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।