काठमाडौं- सर्वाेच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेश सभा सदस्यहरूले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै विपक्षीसँग लिखित जवाफ माग गरेको छ। बाटोको म्यादबाहेक मितिले १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ।
अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा छलफल गर्न सर्वाेच्चले भदाै ८ गते दुवै पक्षलाई बोलाएको छ।
'अन्तरिम आदेश जारी गरी पाउँ भनी निवेदन माग रहेको सन्दर्भमा हेर्दा, दुवै पक्षसँग छलफल गरी टुङ्गो लगाउन उपयुक्त देखिंदा मिति २०७८।५।८ का दिन उपस्थित हुन प्रत्यर्थीहरूलाई सूचना दिई सो मिति २०७८।५।८ गते अन्तरिम आदेश सम्बन्धमा छलफलका लागि नियमानुसार गर्ने', आदेशमा भनिएको छ।
शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि पार्टीबाट पदमुक्त भएका प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे, कल्पना पाण्डे लम्साल र विजयबहादुर यादव पुनर्बहालीको माग गर्दै साउन १५ गते अदालतमा निवेदन दिएका थिए।
उनीहरू यसअघि अदालतको आदेशबाट पुनर्बहाली भएका थिए। तर, जसपाले साउन ११ गते निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि उनीहरू फेर कारबाहीमा परेका थिए। जसविरुद्ध उनीहरू पुन: सर्वाेच्च अदालत गएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।