काठमाडौं– राष्ट्रिय जनमोर्चाले सर्वोच्च अदालतवाट हालै भएको आरक्षणसम्बन्धी फैसला प्रगतिशील र ऐतिहासिक भएको दाबी गरेको छ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै उक्त फैसलाको स्वागत गरेका हुन्। सर्वोेच्चले आरक्षण केही सीमित वर्गमा केन्द्रित हुन गएको भन्दै एक पटक आरक्षण पाएको व्यक्तिले दोस्रो पटक पाउन नहुने फैसला गरेको थियो।
आरक्षण वर्गका आधारमा हुनुपर्ने उसको व्याख्या छ। ‘हालै सर्वोच्च अदालतले एउटा आरक्षणसम्बन्धी मुद्दामा दलित, जनजाति, लैंगिक र अन्य कतिपय पिछडिएका जातिको आरक्षणसम्बन्धमा विस्तृत रुपले व्याख्या गर्दै उत्प्रेषणको आदेशसहितको फैसला गरेको छ,’ जनमोर्चाको विज्ञप्तिमा भनिएको छ, ‘अदालतले अरक्षणसम्बन्धमा सकारात्मक र प्रगतिशील प्रकारले व्याख्या गरेको छ, त्यसलाई हामी सकारात्मक रुपमा लिन्छौं र तिनलाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछौं।’
दलित, जनजाति, लैंगिक वा अन्य कतिपय पिछडिएका जाति, जनसमुदाय र क्षेत्रबारे वर्तमान संविधानमा गरिएको आरक्षणको व्यवस्थालाई कायम राख्नुपर्ने आवश्यकता रहेको जनमोर्चाको ठहर छ।
‘सदियौंदेखि पछाडि परेका जाति, समुदाय वा क्षेत्रका जनतालाई अन्य विकसित जाति, समुदाय वा क्षेत्रका जनताको समकक्षमा ल्याउन त्यस प्रकारको आरक्षणले निर्णयात्मक महत्त्व राख्ने विज्ञप्तिमा उल्लेख छ।
सर्वोच्च अदालतले विगतका र वर्तमान संविधानले विपन्न वर्ग वा समुदायहरुलाई राज्यको तर्फबाट दिने सुविधा वा आरक्षणबारे समेत तुलनात्मक व्याख्या गरेको थियो।
स्पष्ट र सही कानुनको अभावमा अहिले पनि आरक्षणको सुविधा प्राप्त जाति, क्षेत्र वा समुदायका उच्च र सम्पन्न तप्काले नै पटकपटक फाइदा उठाउने गरेका जनमोर्चाको ठहर छ।
निम्नवर्गीय वा लक्षित समुदायलाई त्यो आरक्षण सुविधाबाट कुनै फाइदा पुग्न नसकेको भन्दै उसले त्यो स्थितिमा त्यस प्रकारको आरक्षण सुविधा प्रदान गर्दा ‘मानव विकास सूचकांक’को आधारमा पिछडिएका वा निम्न वर्गीय समुदायलाई फाइदा पुग्ने गरेर नै आरक्षणको सुविधा व्यवस्था गर्नुपर्छ भनी सर्वोच्च अदालतले गरेको व्याख्या सही भएको विज्ञप्तिमा उल्लेख छ।
विश्वका धेरै देशले यही तरिका अपनाएका भन्दै जनमोर्चाले सर्वोच्चको फैसलापछि वास्तविक रुपमा पिछडिएका जनसमुदायहरु वा लक्षित वर्गमा सुविधा पुग्न सक्ने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।