काठमाडौं- गृहमन्त्री रामबहादुर थापा 'बादल'ले चिनियाँ नाकाबाट हुने गरेको सुन तस्करीबारे चिनियाँ राजदूतसँग चासो राखेका छन्।
नेपालका लागि चीनका राजदूत यु होङसँग आज गृह मन्त्रालयमा भएको भेटमा मन्त्री थापाले नेपालमा भइरहेको सुन तस्करी र डलरको अवैध कारोबार नियन्त्रणबारे कुरा उठाएका हुन्।स सो भेटमा राजदूत होङले आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने प्रतिक्रिया दिएका छन्।
भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा पनि छलफल भएको थियो। गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि राजदूतसँग आग्रह गरेका थिए।
नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै मन्त्री थापाले नेपाली भूमिबाट कुनै किसिमका चीनविरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका थिए।
गृहमन्त्रीले चीनको नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार भइरहेको भन्दै त्यसलाई नियन्त्रणका लागि चिनियाँ पक्षको सहयोगका लागि आग्रहसमेत गरेका छन्।
भेटमा राजदूत होङले गृहमन्त्रीको रुपमा कार्यभार सम्हालेकोमा चीनका सामाजिक सुरक्षा मन्त्रीले पठाएको बधाई तथा सफल कार्यकालको लिखित शुभकामना सन्देश गृहमन्त्री थापालाई हस्तान्तरण गरेकी थिइन्।
राजदूत होङले नेपालमा चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृह मन्त्रालयले खेलेको भूमिका प्रशंसनिय रहेको भन्दै यसलाई थप प्रभावकारी बनाउन आग्रह गरेकी छिन्। नेपाली सुरक्षा निकायलाई चीन सरकारबाट प्रदान गरिने सहयोग, तालिम र उपकरण आगमी दिनमा पनि निरन्तर दिने उनले रहने प्रतिबद्धता जनाएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।