काठमाडौं– सोमबार बोलाइएको स्थायी र केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा नेकपा एमालेको दोस्रो तहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। पार्टी केन्द्रीय कार्यालय थापाथलीमा उनीहरुले छलफल गरिरहेका छन्।
उनीहरुले नेपाल पक्षको सहभागिता, बैठकमा राखिने अजेन्डा र विधान महाधिवेशनमा प्रस्तुत गर्नका लागि बनाइने विधान मस्यौदा आदि विषयमा छलफल गरिरहेका बताइएको छ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीले केही दिनअअघि एकताकै पक्षमा जोड दिने निष्कर्ष निकालेको थियो। नेपाल पक्षले अध्यक्ष ओलीबाट बोलाइएको बैठक तत्काल स्थगित गरिनुपर्ने र आपसी सहमतिमा अर्को मितिमा बैठक राखिनुपर्ने माग गरेको थियो।
ओली पक्षले भने आइतबार सहमतिको प्रयास गरेर सम्भव भए सोमबारको बैठकमा समेट्ने र नभए पूर्वनिर्धारित अजेन्डाअनुसार अघि बढ्ने तयारी गरेको छ।
सोमबार दिउँसोसम्म वरिष्ठ नेता नेपाल र अध्यक्ष केपी शर्मा ओलीबीच सहमति हुने कुनै संकेत भने देखा परेको छैन।
एमालेको यसअघिको बैठकले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन तय गरेको छ। विधान महाधिवेशनको एक महिनाअघि नै मस्यौदा वितरण गर्नुपर्ने एमालेको विधानमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।