काठमाडौं– विपक्षीको अविश्वास प्रस्तावले अप्ठेरोमा परेका लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल राजनीतिक भेटघाटका लागि काठमाडौं आएका छन्। पोखरेल विपक्षी गठबन्धनले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछिको राजनीतिक अवस्थाबारे आफू निकट नेतासँग भेटघाटमा व्यस्त छन्।
लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनका कारण अप्ठेरोमा परेका मुख्यमन्त्री पौडेल शीर्षतहसँग छलफलका लागि काठमाडौं आएको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए।
‘मुख्यमन्त्रीज्यू राजनीतिक परामर्श र भेटघाटका लागि काठमाडौमा हुनुहुन्छ,’ ढकालले भने, ‘उहाँ आएपछि कसरी अगाडि बढ्ने भन्ने बिषय निर्णय हुन्छ।’
लुम्बिनीमा मुख्यमन्त्रीको पक्षमा ३८ जना सांसदमात्र छन्। विपक्षी गठबन्धनबाट कुलप्रसाद केसीको पक्षमा ४१ जना सांसद छन्।
अहिले पेश भएको अविश्वास प्रस्ताव अबैधानिक रहेको बताउँदै प्रमुख सचेतक ढकालले प्रस्ताव फेस गरेर जाने कि राजीनामा दिने भन्नेबारे निर्णय भइनसकेको बताए।
मुख्यमन्त्री पोखरेल काठमाडौबाट फर्किएपछि यस विषयमा औपचारिक निर्णय हुने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।