काठमाडौं– सत्तारूढ गठबन्धनको कार्यदलले बुझाएको कार्यक्रममा संविधान विपरीतका कुनै विषय नसमेटिएको कार्यदलका संयोजक पूर्णबहादुर खड्काले बताएका छन्।
सरकार सञ्चालनका लागि कार्यदलले बनाएको न्यूनतम साझा कार्यक्रममा स्थानीय निकायलाई प्रदेश मातहत ल्याउन सिफरिस गरेको भन्दै आलोचना भएपछि खड्काले सामाजिक सञ्जालमार्फत कार्यदलले संविधानविपरीत कुनै कार्य नगरेको स्पष्ट पारेका हुन्।
‘वर्तमान संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा स्थानीय निकायलाई प्रदेशको मातहत ल्याउन कार्यदलले सिफारिस गरेको भनी हिजोदेखि निरन्तर प्रचारित झुटा खबरबाट सृजित अन्योललाई स्पष्ट पार्नु हाम्रो कर्तब्य ठानेका छौं,’ उनले भनेका छन्, ‘संविधान विपरीतको यस्तो सिफारिस गर्ने त के? कार्यदलले कल्पना पनि गर्न सक्तैन।’
प्रधानमन्त्री देउवासहित शीर्ष नेतृत्वहरुलाई साझा कार्यक्रम र कार्यविधि बुझाउने गरी गठित कार्यदलले शुक्रबार सत्ता गठबन्धनका शीर्षनेतालाई आफूले तयार पारेको कार्यक्रमको प्रारुप बुझाइसकेको छ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा कांग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।