काठमाडौं- नेकपा (एमाले)की नेतृ एवम् निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले विघटित भूमिसम्बन्धी समस्या समाधान आयोगको संविधान, ऐन र नियमविपरीत रहेको भनेर कूतर्क नगर्न सरकारलाई चेतावनी दिएकी छन्।
नेतृ तुम्बाहाङ्फेले केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग विघटन गरेर सरकारले देशभरका सुकुम्वासीहरुको मौलिक हकमाथि गम्भीर कुठाराघात गरेको उल्लेख गरिन्। उक्त आयोगलाई संविधान, ऐन र नियमविपरीत भएको भनी कूतर्क नगर्न उनले सचेत गराएकी छन्।
उनले संविधानअनुसार ऐन बनेको र सो ऐनलाई कार्यान्वयन गर्न नियमावली बनाएको तथ्यलाई ढाकछोप गर्नेगरी प्रधानमन्त्री शेरबहादुर देउवा र उनले सम्हाल्दै आएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका कर्मचारीहरुले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाइन्। ‘संविधानअनुसार ऐन संशोधन गरिएको छ। संशोधित ऐनलाई कार्यान्वयन गर्नका लागि नियमावली बनाइएको छ,' नेतृ तुम्बाहाङ्फेले भनिन्, 'तर, ती कुराहरुलाई भ्रम फैलाउनेगरी मन्त्रालयका कर्मचारीले अभिव्यक्ति दिनु आपराधिक मनोवृत्ति र अभिव्यक्ति हो। यो अभिव्यक्ति खेदजनक छ। ती सुकुम्बासी, अव्यवस्थित बसोबास गरिरहेका जनताका निम्ति यो घातक अभिव्यक्ति हो। यसले राम्रो सन्देश दिएको छैन।’
उनले प्रधानमन्त्री देउवाले नेकपा एमालेको कार्यकर्ता भर्ती केन्द्र भएकाले सो आयोग विघटन गर्नुपरेको भनेर कूतर्क गरेको उल्लेख गर्दै राजनीतिक आस्थाविनाको पदाधिकारी राखेर आयोग गठन गरेर देखाउन पनि चुनौती दिइन्। दलीय व्यवस्थामा जनताहरु कुनै न कुनै राजनीतिक पार्टीप्रति आस्थावान हुने यथार्थलाई स्वीकार नगरेर प्रधानमन्त्री देउवाले त्यस्तो अभिव्यक्ति दिएको दावीसमेत उनले गरिन्।
'प्रधानमन्त्रीले एमालेको भर्ती केन्द्र भएकाले सो आयोग विघटन गर्नुपरेको भन्ने कूतर्क गर्नुभएको छ। के जनता कुनै पनि राजनीतिक दलप्रति आस्था नराख्ने हुन्छन्?,' नेतृ तुम्बाहाङ्फेले भनिन्, 'अब आयोग बनाउँदा कुनै पनि राजनीतिक दलप्रति आस्था नभएकाहरुलाई बनाएर देखाउन पनि यो सरकारलाई चुनौती दिन चाहन्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।