काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूले पार्टीभित्र देखिएको समस्या समाधान गर्न चाहिरहेको बताएका छन्।
नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै ‘म सबैथोक जान्ने सर्वज्ञानी हुँ’ भन्ने अहंकारले पार्टीभित्र समस्या पैदा गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर अघि बढ्न आफूले चाहिरहेको बताएका हुन्।
शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनलेले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि स्पष्ट पारे।
‘हामीकहाँ पनि अहंकारका प्रवृत्तिहरु देखा परे। सामूहिकताका भावनाहरु हराउन थाले। अरुका ज्ञान अनुभवहरुलाई बेवास्ता गर्न थालियो। मै सबथोक सर्वज्ञानी हुँ भन्ने अहंकार, घमण्ड बढेर गयो। र, हाम्रो पार्टी नेकपा (एमाले)मा समस्या देखा पर्यो’, नेपालले भने, ‘त्यो समस्या हामी हल गर्न चाहिरहेका छौं। तर, के हल गर्नका लागि पार्टी भित्रका रोगको सही पहिचान गर्नका लागि हामी तयार छौं? हामी, हो त्यहीँ उद्देश्यका साथ पार्टीलाई नयाँ जीवन दिन चाहिरहेका छौं।’
वरिष्ठ नेता नेपालले पार्टीलाई नयाँ जीवन दिन भन्दै अरुले जस्तो ‘बाँदरे नाच’ नाच्ने काम नगर्न पनि आफू पक्षीय जनवर्गीय संगठनका नेता, कार्यकर्तालाई आह्वान गरे। इमान्दार बन्नुपर्ने, असल संस्कार बोक्नुपर्ने, अरुको मानमर्यादामा आँच पुर्याउने काम कसैले पनि गर्न नहुने उनको भनाइ थियो।
वरिष्ठ नेता नेपालले आफूभित्र रहेका त्रुटीहरु स्वीकार गरेर अघि बढ्ने आँट गर्न पनि आग्रह गरे। ‘त्रुटी नभएको मान्छे कोही पनि हुँदैन। मान्छे हो त्रुटी हुन सक्दछ। सबै सुध्रिऔं। देश, जनता र राष्ट्रका लागि समर्पित होऔं।’
नेता नेपालले सिंगो कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाएर देश र जनताको सेवामा समर्पित भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।