काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक जिल्लाका बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन, बाढीग्रस्त क्षेत्रमा जोखिम व्यवस्थापन, पुनर्निर्माण र पुनःस्थापना गर्न सरकारसँग माग गरेका छन्।
अध्यक्ष राणाले प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिबार ज्ञापनपत्र बुझाउँदै सात बुँदे माग प्रस्तुत गरेका हुन्। प्राकृतिक प्रकोपबाट संकटग्रस्त जनताको दैनिकीमा ठूलो महत्त्व राख्ने अत्यावश्यक काम यथाशीघ्र अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
प्रधानमन्त्री देउवाले बाढीपीडित क्षेत्रका समस्या र आवश्यकता सम्बोधन गर्ने राप्रपाको प्रतिनिधिमण्डललाई आश्वासन दिए।
‘असार १ गतेका दिन सिन्धुपाल्चोक जिल्ला, पाँचपोखरी गाउँपालिका, हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा आएको भिषण बाढीको कारण ठूलो जनधनको क्षति भएको व्यहोरा प्रधानमन्त्रीज्यूमा अवगत नै छ,’ अध्यक्ष राणाले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै भने, ‘त्यसपछि पनि अविरल रुपमा सो क्षेत्रमा बाढी आइरहेको र क्षति हुने क्रम बढिरहेको सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी निम्नलिखित विषयहरुमा सरकारको गम्भीर ध्यानाकर्षण गर्दै तत्काल कारबाहीका लागि जोडदार माग गर्दछु।’
सिन्धुपाल्चोक जिल्लाको तर्फबाट प्रस्तुत ज्ञापनपत्रमा मृतक र बेपत्ताको परिवारलाई उचित राहत उपलब्ध गराउन, पीडित परिवारहरुलाई तत्काल राहतको प्याकेज उपलब्ध गराउन माग गरिएको छ। बाढीबाट क्षतविक्षत भएको भौतिक संरचना पुल, शिक्षण संस्था, विद्युत् आदिको तत्काल वैकल्पिक माध्यमबाट र भविष्यमा दीर्घकालीन रुपमा पुनर्निर्माण गर्न/गराउनसमेत सरकारसँग माग गरिएको छ।
हालसम्म विस्थापित भएका परिवारहरुलाई सुरक्षित स्थानको पहिचान गरी पुनःस्थापना गर्न, बाढीको कटानबाट खेतीयोग्य जमिन जोगाउनका लागि तत्काल तटबन्ध निर्माण कार्य अगाडि वढाउन ज्ञापनपत्रमा माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।