काठमाडौं– तीन तहका सरकारको सम्बन्धलाई नै खल्बल्याउने र शक्तिशाली हुनुपर्ने स्थानीय सरकारलाई कमजोर तुल्याउनेगरी सत्तारुढ गठबन्धनको कार्यदलले प्रस्ताव तयार पारेको छ। शुक्रबार गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुलाई बुझाइएको 'संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम' मा 'स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक कार्य गर्ने' गर्ने उल्लेख छ।
संविधान निर्माणको बेला टुंगिसकेको यो विषयलाई कार्यदलले आफ्नो प्रतिवेदनमा उल्लेख गरेसँगै राजनीतिक दलहरुका बीच विवाद बढ्ने आकलन गरिएको छ। स्थानीय सरकारहरु र विपक्षी एमालेले यसको विरोध नै सुरु गरिसकेका छन्।
नेकपा एमालेका नवगठित स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले स्थानीय तहलाई प्रदेशको मातहत लैजानु उपयुक्त नहुने बताए। संविधान मिचियो भनेर अघिल्लो सरकारलाई हटाउन भूमिका खेलेकाहरुले नै संविधानमा उल्लेख भएको प्रावधानलाई उल्टाउन खोजिएको उनले बताए। 'उहाँहरुले भनेजस्तो गर्न संविधान नै संशोधन गर्नुपर्ने हुन्छ। त्यसमा हाम्रो पूर्ण विरोध हुन्छ', उनले भने।
नेपालको संविधानमा 'संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुनेछ' भन्ने उल्लेख छ। नेपालको राज्यशक्तिको प्रयोग तीनै तहले संविधान तथा कानून बमोजिम गर्ने भनिएको छ। तीनै तह एकअर्काको मातहत भन्दा पनि संविधानले दिएको एकल र साझा अधिकारको आधारमा आफ्ना गतिविधि गर्न स्वतन्त्र छन्। तर, सत्तारुढ गठबन्धनको पछिल्लो प्रस्ताव संविधानको यो परिकल्पनाको विपक्षमा आएको देखिन्छ।
संविधान निर्माणको बेलामा मधेसकेन्द्रित दलको जोड स्थानीय तहलाई प्रदेशको मातहत राख्नुपर्छ भन्नेमा थियो। तर, संविधानमा त्यस्तो प्रावधान राख्न सम्भव भएन। किनभने त्यसबेला प्रमुख दलहरु (कांग्रेस, एमाले र माओवादी) त्यो पक्षमा थिएनन्। तर, मधेसकेन्द्रित दलहरुले यस विषयलाई पछिसम्मै उठाइरहेका थिए। जस्तो कि, २०७७ जेठ १९ गते संसद् सचिवालयमा जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट दर्ता गरिएको संविधान संशोधन प्रस्तावमा पनि यस विषयलाई समेटिएको छ। संशोधन प्रस्तावमा संविधानको धारा ५६ को उपधारा (४) लाई परिवर्तन गर्न प्रस्ताव गरिएको थियो। भनिएको थियो- 'स्थानीय तह अन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहने छन्। गाउँपालिका र नगरपालिकाको गठन र परिचालन प्रदेश कानुन बमोजिम हुने छ।' तर, यो प्रस्ताव अघि बढेको छैन।
सत्तारुढ गठबन्धनको कार्यदलका एक जना सदस्य देव गुरुङ भने स्थानीय तहको हकमा संविधान अनुसार नै गरिने बताउँछन्। 'संविधान अनुसार स्थानीय तहको क्षेत्राधिकार जे छ, त्यही अनुसार गर्ने भन्ने हो', उनले भने।
उनले अहिलेको प्रावधानमा परिवर्तन गर्न संविधान संशोधन भए मात्रै सम्भव रहेको बताए। उनले अहिलेको हकमा संविधान र कानुनले तोकेको क्षेत्राधिकारलाई कार्यान्वयन गरिने बताए।
कार्यदलको प्रस्ताव सार्वजनिक हुनुअघि नै 'स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक कार्य गर्ने' भन्ने विषयमा विवाद सुरु भइसकेको थियो। नेकपा एमालेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले गत बुधबार नै यो विषयमा विरोध जनाउँदै लामो फेसबुक स्टाटस लेखेका थिए। 'प्रथमत: यो संविधानको बर्खिलाप छ। यसका लागि संविधान संशोधनले मात्र पुग्दैन, व्यापक राष्ट्रिय सहमति चाहिन्छ। नेकपा एमाले सुरुदेखि नै यो अवधारणाको विपक्षमा छ, एमालेले साथ दिने कुरै हुँदैन। संविधान निर्माणताका कांग्रेस पनि एमालेकै विचारमा सहमत थियो। आज कांग्रेसले विचार बदल्नुको कारण के हो? जनसमक्ष स्पष्ट गर्नु पर्दछ', उनले लेखेका छन्।
तहगत शासकहरुमा पलाउने अहंकार र शक्ति उन्मादको सिकार मुलुक नहोस् र एक तह र अर्कोका बीचमा टकराब नहोस् भन्नका लागि तीनै तहलाई संवैधानिक रुपमै स्वायत्त गरी अधिकारको बाँडफाँड गरिएको भट्टराईको भनाइ छ। 'सत्तारुढ गठबन्धनको प्रस्तावले संबिधानको यो अवधारणालाई भत्काउने छ र मुलुकमा शासकीय अराजकता सिर्जना भई वर्तमान राजनीतिक व्यवस्थामाथि गम्भीर धक्का पुग्ने छ', उनको भनाइ छ।
कार्यदलले दिएको प्रतिवेदन प्रस्ताव मात्रै हो। त्यो मन्त्रिपरिषद्बाट पारित गरिएपछि मात्रै सरकारको नीति-कार्यक्रम बन्ने बताउँछन्, गुरुङ। 'हामीले नेताहरुलाई सुझाव दिएका हौं। नेताहरुले त्यसलाई हेरेर आवश्यक छलफल गर्नुहुन्छ। त्यसपछि टुंगो लगाउनुहुन्छ। प्रधानमन्त्रीलाई सुझाव दिनुहुन्छ। प्रधानमन्त्रीले त्यसमा थपघट र काटछाँट गरिर मन्त्रिपरिषद्बाट निर्णय गरिसकेपछि सरकारको नीति-कार्यक्रम बन्छ', नेपाल लाइभसँगको कुराकानीमा उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।