नेपाल पक्षकी केन्द्रीय सदस्य निरा जैरु, फाइल तस्वीर
काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीपक्षले बोलाएको साउन २४ गतेको केन्द्रीय कमिटी बैठक स्थगित गर्नुपर्ने माग गरेको छ।
नेपाल पक्षले साउन २४ गतेको बैठकसहित पार्टी सदस्यता वितरण, नविकरण र संगठन विस्तार लगायत सम्पूर्ण जिल्ला, स्थानीय पार्टी कमिटीका अधिवेशनहरु रोकिनुपर्ने माग गरेको छ।
नेपाल पक्षकी केन्द्रीय सदस्य निरा जैरुले अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकका साथै महाधिवेशनका लागि भनेर सुरु गरिएका गतिविधि रोकेपछि मात्रै संवादका लागि सहज वातावरण बन्ने बताइन्।
'केपी कमरेड पक्षको २४ गतेको बैठक रोकिनु पर्छ। जसरी जिल्ला र स्थानीय बैठकहरु बसाएर संगठन विस्तारमा लाग्नु भएको छ त्यो रोक्नु पर्छ,’ जैरुले भनिन्, ‘त्यसपछि पार्टी एकताका विषयमा छलफल र संवाद गर्न सहज वातावरण बन्छ।’
केपी ओलीले गरेको संसद विघटन प्रतिगमन नै भएको बताउँदै नेपालपक्षले त्यसमा ओलीले आत्मआलोचना गर्नु पर्ने अडान लिएका छन्।
ओली पक्षका नेता एवम् पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने माधव नेपाल पक्षले रोक्नु भन्दैमा पार्टीका गतिविधि नरोकिने जवाफ दिएका छन्। पार्टीका नियमित कामहरु अगाडि बढ्ने ज्ञवालीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।