काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन्। शुक्रबार केन्द्रीय कमिटीको बैठकको बीचमै बसेको स्थायी कमिटीको बैठकमा सम्बोधन गर्दै उनले एकताको प्रयत्न जारी राखेको बताएका हुन्।
'हामीले पनि आलोचना गर्दा संयमित र जिम्मेवार बन्नुपर्छ। दक्षिणपन्थी विचारका विरुद्ध हामीले संघर्ष गर्दै आएका छौं। यसका लागि हामी एकताबद्ध भएर संघर्ष गर्नुपर्छ। केपी ओलीले मलाई जति नै गाली गर्न खोजे पनि अहिले पनि म पार्टी एकता होस् भन्ने पक्षमा छु। एकताको लागि मेरो पर्यत्न जारी छ', नेपालको भनाइ उद्धृत गर्दै स्थायी कमिटी सदस्य रघुजी पन्तले भने।
सम्बोधनमा नेपालले केपी ओलीले आफूहरुलाई अलमल्याउन खोजेको त होइन भन्ने धेरै साथीहरुले आशंका गरेको भए पनि त्यस्तो नहोला भन्ने आफूले ठानेको र एकतामा जोड दिन चाहेको बताएका थिए। उनले मनोबल र उत्साहलाई कायम राख्दै एकताको लागि प्रयत्न गर्न आह्वान गरेका थिए।
स्थायी कमिटीले केन्द्रीय कमिटीका लागि चार वटा प्रस्ताव समेत तयार पारेको थियो।
पहिलो, सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेको फैसलालाई स्वागत गरियो।
दोस्रो, पार्टी एकताका लागि दश बुँदे सहमति भएको र वार्ता चलिरहेको अवस्थामा पार्टीका वरिष्ठ नेता लगायत विभिन्न नेताहरुमाथि अनेकौं प्रकारका टिप्पणी गर्ने र लाञ्छना लगाउने काम उचित र मर्यादित होइन। यसप्रति यो बैठक दुःख व्यक्त गर्दछ। यस्तो लाञ्छना लगाउने काम कतैबाट हुनुहुँदैन। त्यसैले विचार व्यक्त गर्दा सम्पूर्ण पार्टी पंक्ति संयमित, जिम्मेवार र संवेदनशील हुनुपर्ने आवश्यक छ। यो बैठक यसप्रति सबैको ध्यानाकर्षण गर्दछ।
तीन, पार्टी एकताको लागि कुराकानी र वार्ता चलिरहेको अवस्थामा एक पक्षीय ढंगले सदस्यता नवीकरण, अधिवेशन, पुनर्गठन र सम्मेलन गर्ने जस्ता काम अघि बढाउनु एकतालाई भाँजो हाल्ने काम हुन जान्छ। त्यसैले तत्काल सदस्यता नवीकरण लगायतका सबै संगठनात्मक गतिविधि रोक्न यो बैठक सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गर्दछ।
चार, अहिलेसम्म भएका १० बुँदे सहमति लगायतका सहमतिहरुले एकताको आधार निर्माण गरेका छन्। १० बुँदे सहमति लगायतका सहमतिहरुलाई कार्यान्वयन गर्दै एकताका थप आधार तयार पार्न कुराकानी र वार्ता निरन्तर भइरहेको छ। हामीले पार्टीले एकताबद्ध बनाउने दिशातर्फ सजगताका साथ अघि बढ्न आवश्यक छ। यस सम्बन्धमा थप निर्णयहरु गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिइएको छ।
बिहीबारदेखि जारी नेपाल पक्षको केन्द्रीय कमिटी बैठक पनि सकिएको छ। शुक्रबार मात्रै ३५ जना केन्द्रीय कमिटीका सदस्यहरुले सम्बोधन गरेको पन्तले बताए। सबैजसो केन्द्रीय सदस्यहरुले सम्मानपूर्वक एकतामा जोड दिएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।