काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय युवा संघ नेपालले केन्द्रदेखि स्थानीय तहसम्मै पिपुल्स भोलेन्टियर (पीभी) गठन गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको युवा संघको केन्द्रीय पदाधिकारी स्तरीय बैठकले साउन मसान्त भित्र सबै प्रदेश, भाद्र १० गते भित्र सबै जिल्ला र भाद्र मसान्तसम्म सबै स्थानीय तहसम्म पिपुल्स भोलेन्टियर (पीभी) गठन गरिसक्ने निर्णय गरेको शुक्रबार जानकारी दिइएको छ।
त्यस्तै युवाहरुलाई समाजप्रतिको दायित्व र कर्तव्य बोध गराउने तथा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले "महिनामा २ दिन- २ घण्टा मेरो, राष्ट्रका लागि" भन्ने स्वयं सेवकीय अभियान संचालन गर्ने निर्णय गरिएको युवा संघले जनाएको छ। यो अभियान प्रत्येक महिनाको २ वटा शनिवार २-२ घण्टा देशैभरी निरन्तर संचालन हुने जनाइएको छ।
ढिलासुस्ती, भ्रष्टाचार, नातावाद, कृपावाद संस्कृतिको रुपमा स्थापित हुँदै गएको तथा राजनीति र राजनीतिक कार्यकर्ता प्रति नकारात्मक धारणा विकास भैरहेको भन्दै युवा संघले यसको विरुद्ध पिपुल्स भोलेन्टियर परिचालन गर्ने निर्णय गरेको छ। शिक्षा, स्वास्थ्य, सुशासन, वातावरण, संरक्षण, उद्धार तथा राहातको कार्यमा युवा संघ नेपाल, पिपुल्स भोलेन्टियरको रुपमा परिचालन गर्ने निर्णय गरिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।