काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालबीच शुक्रबार भेटवार्ता भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा सदनलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताइएको छ।
सभामुख सापकोटा र मन्त्री भुसालबीच मौसमजन्य विपत्तिले देशभरका नदी तटीय क्षेत्रमा भएको क्षति र नदी कटान नियन्त्रणका विषयमा पनि कुराकानी भएको छ।
सापकोटा र भुसालबीच मनसुन जारी रहेकोले सिन्धुपाल्चोक लगायतका बाढी प्रभावित जिल्लामा नदी कटान नियन्त्रणका लागि सरकारी प्राथमिकताका विषयमा पनि छलफल भएको जनाइएको छ।
सभामुख सापकोटाले संसदको चालु अधिवेशनलाई गतिशील बनाउने सम्बन्धमा यसअघि गृहमन्त्री बालकृष्ण खाण, अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’सँग छलफल गरिसकेका छन्। सभामुख र संसदीय मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीबीच पनि यसै विषयमा नियमित छलफल हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।