काठडमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षका नेता सोमप्रसाद पाण्डेले आफूहरुको समूहमा पार्टी विभाजन गर्ने र अर्को पार्टी खोल्नेबारे बहस नभएको बताएका छन्।
शुक्रबार नेपालपक्षको केन्द्रीय कमिटी बैठक केहीबेरका लागि स्थगन भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पाण्डेले नेकपा एमाले विभाजन गर्ने र अर्को पार्टी खोल्ने बारे आफूहरुको पक्षमा बहस नभएको दाबी गरे।
'पार्टी विभाजन र अर्को पार्टी खोल्ने खालको कुरा छैन। पार्टी एकता भनेको दुई वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालले पार्टीलाई सुदृढ गरौं भन्नेबाट शुरु भएको हो। अहिले दूरी धेरै टाढा पुगेको मात्र हो,' उनले भने, 'अर्को पार्टी खोल्ने खालको कार्य भएको छैन र हुनु हुँदैन।'
उनले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने सम्भावना नरहेको तर एकीकृत एमालेमा सल्लाह गरेर राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने बताए।
'सरकारमा जाने कुरा गाहो छ। नेकपा एमालेभित्रै सहमति गरेर राष्ट्रिय सहमतिको सरकार हुन सक्छ। सात महिनापछि स्थानीय र १६ महिनापछि अर्को निर्वाचन गर्नुपर्ने भएकाले सहमतिको सरकार भन्न सकिएला, तर यही होला भन्न सकिँदैन। सरकारमा जान कानुनी अड्चन छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।