काठमाडौं- सत्तारूढ गठबन्धनले देशको राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितलाई विश्व समुदायका बीचमा स्थापित गर्ने गरी अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने योजना अघि सारेको छ। गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार पारेको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदनमा उक्त प्रस्ताव गरिएको हो।
प्रतिवेदनमा भूपरिवेष्ठित देशको अधिकार, ठूला र साना देशहरूबीच पूर्ण समानाधिकार तथा एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको पक्षपोषण गर्ने उल्लेख छ। 'देशको राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितलाई विश्व समुदायका बीचमा स्थापित गर्नु, भूपरिवेष्ठित देशको अधिकार, ठूला र साना देशहरूबीच पूर्ण समानाधिकार तथा एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको पक्षपोषण गर्ने,' प्रतिवेदनामा छ।
यस्तै छिमेकी मुलुकहरूसँगको सामाजिक/आर्थिक सम्बन्धलाई विशेष महत्त्व दिनुका साथै विश्वका सबै मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्धलाई जोड दिने उल्लेख छ। शान्ति, स्थिरता, आर्थिक रूपान्तरण र जनताको समृद्धिको दिशामा अगाडि बढ्न सबै मित्रराष्ट्रहरूसँग द्विपक्षीय र बहुपक्षीय सम्बन्ध विस्तार गर्ने विषय प्रतिवेदनमा समेटिएको छ।
साथै, संयुक्त राष्ट्रसङ्घको वडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्त एवम् राष्ट्रिय हितका आधारमा परराष्ट्र नीति सञ्चालन गर्ने तथा परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।