हामीहरू त
पुराना कपडा हौं हजुर– पुराना कपडा
हजुरका पुराना कपडा जस्ता हैनौँ हजुर
हाम्रा आफ्नै पुराना कपडा जस्ता
जहाँ भेटिन्छन्,
कपडाभन्दा ज्यादा सिलाइको धागो
लुगाभन्दा धेरै टालो
हाम्रो बस्तीमा त–
बाटो भुलेर आउने गर्छन्– जूनकिरीहरू
कहाँ देख्न पाउनु हामीले– पानीको उज्यालो
घाम जून पनि हजुरको महलको धुरी कटेर
हाम्रो छाप्रोमा आउँन डराउछन्
हाम्रो तिर त–
चाहिँदा एक घुट्की पानी आउँदैन
नचाहिँदा बाढी आउँछ
चाहिँदा चुलोमा एक झिल्को आगो पाइन्न
नचाहिँदा आगोको मुस्लो धुरीमा पुग्छ र कटुवाल लगाउँछ
हामी त बासी खाना हौं हजुर–
मिल्किन तयार भएका
त्यो पनि,
हजुरको घरको बासी हैन– हाम्रो आफ्नै घरको
अभावमा बाँचेका हामीलाई भेट्न त
धेरैजसो भोकमरी आउँछ
र,
म छु चिन्ता नलिनु– भन्छ
कहिले महामारी आउँछ र आफूसँगै जान उक्साउँछ
यो बाटो भएर त–
परार भूकम्प आयो– शिरमाथिको हात लग्यो
पोहोर बाढी आयो– मुटुको टुक्रालाई तैराउँदै लग्यो
अहिले कोरोना आएर अड्डा जमाएर बसेको छ
हजुर हाम्रो लागि सुख भनेको त–
कसौंडीले आवाज निकाल्दा– सन्तानको पेट भरिसक्नु हो
तीजको बजारमा–
प्यारीको हात नाप्दै एक दर्जन चुरा किनिदिनु हो
सहर गएर हजुरकोमा सामान ल्याएर घर फर्कंदा
हातमा पारिश्रमिक लिएर फर्कनु हो
हजुर!
यति हुँदाहुँदै पनि हामी–
हजुरलाई हजुर बनाउन खटिइरहेका तँहरू हौँ
जसको औकात– सिधै हजुरमा गएर ठोकिन्छ!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।