काठमाडौं- लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते बुधबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेका प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए।
यसअघि मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहित एक चौथाइ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएको थियो।
नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका संसदीय दलका नेता वीरेन्द्र कनौडियाको नेतृत्वमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नुका साथै विशेष अधिवेशन समेत बोलाउन माग गरिएको थियो। सोमबार ४१ जना सांसदको हस्ताक्षरसहित माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गरेर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका थिए।
त्यसको भोलिपल्ट गठबन्धनका तर्फबाट प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। लुम्बिनी प्रदेश सभामा ८० सांसदमध्ये मुख्यमन्त्रीको पक्षमा ३९ जना सांसद मात्रै छन्। विपक्ष गठबन्धनमा सभामुखसहित ४१ जना रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।