काठमाडौं– नेकपा (एमाले)का सचिव भीम आचार्यले पार्टी एकताको विकल्प नरहेको बताएका छन्।
बिहीबार बानेश्वरमा बसेको माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्ताव नै एकताको आधार भएको बताए।
‘यसबीचमा अध्यक्ष कमरेड ओलीबाट आएका केही अभिव्यक्ति र तत्लो तहसम्मका गतिविधिले असर गरेको हो। कमजोरी सबैबाट भएका होलान् तर, एकताको विकल्प छैन’, आचार्यले भने।
उनले पार्टीको दुवै समूहभित्र १० बुँदे सहमतिलाई लिएर केही ‘अपूर्ण’ महसुस भएपनि समग्रमा त्यो नै एकताको आधार भएको बताए।
‘म हस्ताक्षर गर्ने मान्छेकै केही असन्तुष्टी छन्। शब्द, अक्षरमा मान्छेकाका अलिअलि तलमाथि त हुन्छन्। त्यसमा केपी ओलीका पनि असन्तुष्टी छन्। हामी हस्ताक्षर गर्ने साथीहरूकै असन्तुष्टी छन्। सबैको सबै कुरा मिल्दैन। तर, यो त कम्प्रमाइज भएर हुने हो नि! समग्रमा यो १० बुँदे एकताको आधार हो’, आचार्यले भने।
दुवै पक्ष कम्प्रमाइज हुँदै एउटाका मात्र कुरा लागू नहुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।