काठमाडौं- नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सभा सदस्य (सांसद) विमला खत्री (ओली)ले मुख्यमन्त्री शंकर पोखरेलको निवासमा 'बन्धक' बनाइएको र आफू त्यहाँबाट भागेर आउन सफल भएको बताएकी छिन्।
बिहीबार पत्रकार सम्मेलन गर्दै उनले मुख्यमन्त्री शंकर पोखरेलको निवासमा तीन दिन बन्धक बनाइएको उल्लेख गरेकी छिन्।
उपचारका लागि नेपालगञ्ज जान लागेको समयमा नेकपा एमालेका लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भुमीश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावतले आफूलाई गाडीमा बुटवल पुर्याएको उनको आरोप छ। आफूलाई नेकपा एमालेमा आउन निरन्तर दबाब र प्रलोभन दिइएको उनले बताइन्।
'साउन १६, १७, १८ सम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिई निरन्तर दवाव दिइरहियो, मैले इन्कारी जारी राखिरहें,' उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्नै नदिई जबरजस्ती हस्ताक्षर गराइयो, यति मात्र नभई अर्को दुई तीनवटा माइनुट जस्ता रजिष्टरमा पनि जबरजस्ती हस्ताक्षर गराइयो। यति घटना गराइसकेपछि अब मलाई घर जान दिन्छन् र बाहिर गएर यो जबरजस्तीको खण्डन गर्छु भनेर सोचेको थिएँ, तर अझ कडाइका साथ साउन १९ गते देखि मुख्यमन्त्री निवास भित्रै राखियो।'
२० गते बिहान आफूलाई असह्य मानसिक पीडा भएपछि आफू मुख्यमन्त्री कार्यालयबाट भागेको उनले दाबी गरेकी छन्।
'पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा पुगें, जहाँ मेरो आफनै खुल्ला र स्वतन्त्र संसारमा पुगेको अनुभूति गरें त्यसबेला म मानसिक रुपमा निकै थकित भएकोले मुक्त भएकै दिन साउन २० गते नै सार्वजनिक हुन सकिनँ,' उनले भनेकी छिन्।
राजनीति र सरकारको खेलमा यस्तो घटना आफूले पहिलो पटक व्यहोरेको उनले बताएकी छिन्। उनले आफू माओवादी केन्द्रप्रति पूर्णप्रतिबद्ध रहेको बताइन्।
आफ्ना नामबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश दलले फैलाएको भ्रमहरु र जबरजस्ती गरिएको कागज र हस्ताक्षर झुठो भएको उनको भनाइ छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।