काठमाडौं- नेकपा एमालेका सांसद् तथा माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य मेटमणि चौधरीले एमालेलाई एक हुन नदिने ओली दुई-तीन वर्षअगाडिदेखि नै लागिसकेको बताएका छन्। बिहीबार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकअघि पत्रकारहरुसँग कुरा गर्दै सोही कारणले एमालेलाई एक गर्न सम्भव नभइरहेको बताएका हुन्।
'केपी ओलीले नेकपा एमालेलाई एक हुन नदिन दुई/तीन वर्ष अगाडिदेखि नै लागिसक्नुभएको थियो। त्यो कुरा हामीले बुझेका थियौं। त्यसैले फेरि पनि नेकपा एमालेलाई एक गराउने, केपी ओललाई अध्यक्ष बनाइराख्ने कुरा त्यही कारणले सम्भव हुन सकिरहेको छैन,' उनले भने।
केपी ओलीले घोषणा नगरे पनि नेकपा एमालेलाई मिल्न नदिने मनोविज्ञानमा पुगसकेको उनको भनाइ छ। 'उहाँले घोषणा नगर्दासम्म हामीले पनि अर्को बाटो निर्माण गर्नुपर्छ भन्ने लागेको छैन। उहाँले घोषणा गरेपछि हामीले पनि कानुनी प्रावधानमाथि मध्यनजर गरेर अर्को पार्टी निर्माण गर्नुपर्छ भन्ने ठाउँमा पुग्नुपर्छ, पुग्छौं। उनले अर्को पार्टी नबनाउँदासम्म हामीले नेकपा एमालेबाटै आफ्ना गतिविधिहरु अगाडि बढाउँछौं,' उनले भने।
आजको केन्द्रीय कमिटी बैठकमा अब नेकपा एमालेलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने उनले बताए। 'सुरुमा माधवकुमार नेपालले आफ्नो कुरा राख्नुहुन्छ। त्यसपछि कार्यदलबाट एक जना कमरेडले अहिलेसम्म भए गरेका कामहरुको विषयमा कुरा राख्नुहुन्छ। त्यसपछि केन्द्रीय कमिटीका सदस्यहरुले आफ्नो धारणाहरु राख्छौं र एउटा निष्कर्षमा हामी पुग्छौं,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।